काठमाडौं । जारी शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत २३औं साताको अन्तिम खेलमा नेपाल पुलिस क्लब र मनाङ मर्स्याङदी क्लब विजयी भएका छन् भने हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लब गोलरहित बराबरीमा रोकिएका छन् ।
बिहिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दिनको पहिलो खेलमा पुलिसले एनआरटीलाई एक शून्य गोलले पराजित गरेको हो । पुलिसको जितमा विदेशी फरवार्ड मोसेस ग्यावाले निर्णयक गोल गरे । यो जितसँगै पुलिसले २३ खेलबाट ३४ अंक बनाएको छ । यता पराजित एनहारटीको भने समान खेलबाट २९ अंकसहित १०औं स्थानमा छ ।
यस्तै दशरथ रंगशालामै भएको दिनको अन्तिम खेलमा मनाङ एफसी खुमलटारलाई एक शून्य गोलले पराजित गरेको छ । मनाङको जितमा मिडफिल्डर रोशन राना मगरले इन्ज्युरी समयमा गोल गरेका थिए । उक्त गोल नै मनाङ जितका लागि प्रयाप्त बन्यो ।
यो जितसँगै मनाङले जारी सिजन २३ खेल सकिँदा ३१ अंक बनाउँदै नौंबाट पाँचौं स्थानमा उक्लिएको छ । रेलिगेशन जोनमा रहेको खुमलटारको भने समान २३ खेलबाट २४ अंकसहित पूछारमा छ ।
यस्तै आजै च्यासल रंगशालामा भएको खेलमा शेर्पा क्लब गर फ्रेन्ड्स क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । उक्त बराबरी सँगै २३ खेलबाट २५ अंक बनाएको फ्रेन्ड्स क्लब १३औं स्थानमा यथावत् रहेको छ भने समान खेलबाट ३० अंकसहित सातौं स्थानमा रहेको छ ।
जारी सिजन २३ खेल सकिदा ४१ अंक बनाएको चर्च ब्वाइज शीर्ष स्थानमा रहको छ । मछिन्द्र ३९, जवलाखेल ३७ अंकसहित क्रमश दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।



