महिला टी२० क्रिकेट शृंखलाको निर्णायक खेलमा नेपाली टोली विजयी भएको छ । शृंखलाको पाँचौं तथा अन्तिम खेलमा आइतबार नेपालले मलेसियालाई तीन विकेटले पराजित गरेको हो । यो जितसँगै पाहुना टोली नेपालले पाँच खेलको शृंखला पनि ३-२ ले जित्यो ।
अन्तिम खेलअघि शृंखला २-२ को बराबरीमा थियो । अन्तिम खेलमा टस हारी पहिलो ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित ओभरमा पाँच विकेट गुमाएर १०९ रन बनाएको थियो । जवाफी ब्याटिङमा नेपालले भने १९।२ ओभरमा सात विकेट गुमाएर ११० रन बनाउँदै विजयलक्ष्य पूरा गर्यो ।
नेपालका लागि ओपनर सीता रानामगरले ३४ रनको योगदान गरिन् भने अर्की ओपनर कविता कुँवर ४ रनमा आउट भइन् ।
तेस्रो नम्बरकी ब्याट्सउमन ईन्दू शर्मा पाँच र चौथो नम्बरमा क्रिज समाल्न आएकी सम्झना खड्का शून्य रनमै पेभेलियन फर्किएपछि नेपाल दबाबमा परेको थियो । त्यसपछि पाँचौं नम्बरमा क्रिज समाल्न आएकी कप्तान रुबिना क्षेत्री बेल्बासीले नेपालका पाली समाल्ने प्रयास गरेकी थिइन् । उनले ३० बलको सामना गरी तीन चौकाको मद्दतले २३ रन बनाइन् ।
बिन्दू रावल ५ रनमा आउट भइन् भने कविता जोशीले पनि ५ रन बनाइन् । ज्योति पाण्डेले अविजित ११ रन र अप्सरी बेगमले अविजित १५ रन बनाए । यी दुबैले जिम्मेबारीपूर्ण ब्याटिङ गर्दै नेपाललाई जितसम्म डोर्याएका थिए ।
नेपालले अतिरिक्त रुपमा ८ रन पाएको थियो । मलेसियाका बलर आइना हमिजाहले दुई तथा माहिरा इजाती, विनिफ्रेड, आसिया एलिसा र नुर दानियाले एक÷एक विकेट लिए ।



