काठमाडौं । एएफसी यू-२० महिला एशियन कप छनोटको दोस्रो चरण खेल्ने नेपाली यू-२० महिला फुटबल टोलीको आज विदाई गरिएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले अध्यक्ष पङ्कजविक्रम नेम्वाङलगायत एन्फा पदाधिकारीले नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरेका हुन् ।
नेपाली महिला फुटबल टोली भोलि साँझ म्यानमार प्रस्थान गर्दैछ । दोस्रो चरणको छनोट खेलका लागि नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा आयोजक म्यानमारसहित चीन र चाइनिज ताइपेई रहेका छन् । त्यस्तै समूह ‘ए’ मा अष्ट्रेलयिा, भियतनाम, इरान र लेबनान रहेका छन् ।
नेपालले पहिलो खेल यही जेठ २३ गते आयोजक म्यानमारसँग खेल्नेछ । दोस्रो खेल जेठ २५ गते चीनसँग तथा तेस्रो खेल जेठ २७ गते चाइनिज ताइपेईसँग खेल्नेछ । यसअघि प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोट खेलबाट नेपाल दोस्रो चरणमा प्रवेश गरेको हो ।



