काठमाडौं । फ्रान्सेली फुटबलर करिम बेन्जेमा साउदी अरेबियन क्लब अल-इत्तिहाडमा अनुबन्ध भएका छन् ।
रियल मड्रिडमा १४ वर्ष बिताएका बालोन डे’ओर विजेता बेन्जेमाले साउदी क्लबसँग तीन वर्षको सम्झौताका लागि सहमति जनाएका छन् ।
उनले रियलबाट पाँच च्याम्पियन्स लिगसहित २५ ट्रफी जितेका छन् । रियल मड्रिडसँग सम्झौता बाँकी नै रहेपनि स्पानिस क्लबले बेन्जेमालाई क्लब छाड्न अनुमति दिएको थियो ।
रियलका लागि सर्वाधिक गोल गर्नेमा क्रिस्टियानो रोनाल्डोभन्दा मात्र पछि रहेका बेन्जेमाले ३५४ गोल गरेका छन् । रोनाल्डोले ४५० गोल गरेका छन् । रोनाल्डो हाल अर्को साउदी क्लब अल नासेरबाट खेलिरहेका छन् ।
‘यो राम्रो लिग हो र यहाँ केही राम्रा खेलाडीहरु छन्’ बेन्जेमाले भने, ‘क्रिस्टियानो रोनाल्डो यसअघि नै त्यहाँ छन् ।’ अल-इत्तिहाडको प्रशिक्षकमा टोटनहमका पूर्वप्रशिक्षक नुनो इस्प्रितो सान्तो छन् ।
सन् २००९ मा फ्रेन्च क्लब लियोनबाट रियल पुगेका बेन्जेमाले रियलबाट ६४८ खेल खेलेका थिए ।



