जारी शहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा मछिन्द्र फुटबल क्लबले शानदार जित निकालेको छ ।
बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्रले हिमालयन शेर्पा क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको छ ।
मछिन्द्रको जितमा आफिज ओलावालेले दुई गोल गरे । विमल घर्ति मगरको नाममा एक गोल रह्यो । हिमालयनका पिस्टोन मुटुम्बाले एक गोल फर्काए ।
मछिन्द्रका लागि खेलको २६औं मिनेटमा विमलले, खेलको ६८औं र ७७ औं मिनेटमा ओलावाले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गरे ।
खेलको ८२ औं मिनेटमा मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिए ।
उक्त जितसँगै मछिन्द्रले २५ खेलमा ४२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । हिमालयनले २५ खेलमा ३१ अंक जोडेको छ ।



