पाकिस्तानलाई पराजित गर्दै आमन्त्रित टोली कुवेत साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।
भारतको बैंग्लोरस्थित कन्तिरभा स्टेडियममा शनिबार सम्पन्न पहिलो खेलमा कुवेतले पाकिस्तानलाई ४–० गोलअन्तरले पराजित गरेको हो।
कुवेतको प्रतियोगितामा यो लगातार दोस्रो जित हो। कुवेतले पहिलो खेलमा साविक उपविजेता नेपाललाई ३–१ गोलअन्तरले पराजित गरेको थियो।
पाकिस्तानविरुद्ध जित हासिल गर्न मोहराक अल– फनेनीले २ गोल गरे। हसन अल–अनेजी र इद अल– रशिदले समान १/१ गोल गरे।
कुवेतले खेलको १०औँ मिनेटमा हसनको गोलमार्फत् अग्रता लिएको थियो। १७औँ मिनेटमा कुवेतका फनेलीले गोल गर्दै अग्रता दोब्बर बनाए।
पहिलो हाफको अतिरिक्त समयमा उनले नै गोल गर्दा कुवेतले अग्रता ३–० मा पुर्यायो। दोस्रो हाफको ६९औँ मिनेटमा रशिदले गोल गरेसँगै कुवेत ४–० ले विजयी भयो।
समूह ‘ए’बाट सेमिफाइनलमा स्थान बनाउने पहिलो टोली कुवेत बनेको छ। लगातार पराजित भएसँगै पाकिस्तान समूह चरणबाटै बाहिरिएको छ। पाकिस्तान पहिलो खेलमा आयोजक भारतसँग ४–० गोलअन्तरले पराजित भएको थियो।
यही समूहको खेलमा नेपालले अहिले साँझ ७:४५ बजे साविक विजेता भारतसँग खेल्दै छ। नेपाललाई सेमिफाइनलमा पुग्न भारत र पाकिस्तानसँगको खेलमा जित आवश्यक रहेको छ।



