काठमाडौं । भारतको बैंग्लोरमा जारी १४औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता २०२३ अनतर्गत समूह चरणको अन्तिम खेलमा नेपालले पाकिस्तानलाई पराजित गरेको छ ।
मंगलबार बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा सम्पन्न खेलमा नेपालले पाकिस्तानलाई १-० गोलले पराजित गरेको हो ।
नेपालका फरवार्ड विमल घर्तीमगरले पहिलो हाफको अन्त्यमा गोल गर्ने अवसर प्राप्त गरेका थिए। तर, गोलमा परिणत गर्न सकेनन्।
नेपालको जितमा अशिष चौधरीले निणर्यक गोल गरे । आशिषको यो नेपालका लागि डेब्यु गोल हो ।
दोस्रो हाफमा मैदान प्रवेश गरेका अशिषले खेलको ८०औं मिनेटमा सुन्दर गोल गरे । साफ उनको डेब्यू प्रतियोगिता हो।
त्यसपछि नेपाल र पाकिस्तानले केही अवसर सिर्जना गरेका थिए। तर, दुवै टोलीले सदुपयोग गर्न सकेनन्।
नेपाल र पाकिस्तान यस खेलअघि नै प्रतियोगिताबाट बाहिरिसकेका थिए। नेपाल पहिलो खेलमा कुवेतसँग ३-१ गोलअन्तरले पराजित भएको थियो। नेपालका लागि अञ्जन विष्टले गोल गरेका थिए।
दोस्रो खेलमा नेपाल भारतसँग २-० गोलअन्तरले पराजित भयो। पाकिस्तान भने कुवेत र भारतसँग समान ४-० गोलअन्तरले पराजित भएको थियो। यस समूहबाट कुवेत र भारत एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरिसकेका छन्।
समूह चरणको अन्तिम खेलमा मंगलबार नै भारत र कुवेतले प्रतिस्पर्धा गर्दै छन्। यो खेल बेलुका ७:४५ बजेबाट शुरू हुने छ।



