काठमाडौँ । एसीसी पुरुष यू-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा थाइल्यान्डलाई २२५ रनले पराजित गरेको छ ।
बुधबार नेपालले दिएको २७० रनको लक्ष्य पछ्याएको थाइल्यान्डले १३.२ ओभरमा सबै विकेट गुमाएर ४४ रनमात्र जोड्न सक्यो । थाइल्यान्डका लागि एहसान बनर्जीले १६ रन तथा दानुपोथ फुआङयोटिपिनिटले १२ रन बनाए ।
थाइल्यान्डलाई कम स्कोरमा रोक्न नेपालका लागि सन्तोष यादवले सर्वाधिक ५ विकेट हात पारे । अशोक धामीले ३ र अभिषेक तिवारीले २ विकेट लिए ।
त्यसअघि मलेसियाको बांगीमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाएर २६९ रन जोड्यो ।
नेपालका लागि निरज कुमार यादवले ४३ बलमै सर्वाधिक ७४ रन जोड्दा ८ चौका र ६ छक्का प्रहार गरे । नरेनले ५५ रन, सन्तोष यादवले ४२ रन तथा सुर्यान्सु कोइरालाले ४० रन जोडे ।
थाइल्यान्डका लागि नटपाखन मानोओन, फानुवाट डसुन्गनोएन र राथासाट वानिचाखमले समान २/२ विकेट लिए ।
यो जितसँगै समूह ‘ए’ मा रहेको नेपालले एक खेल अगावै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।
तीन टिम समावेश यस समूहमा मलेसियाले पहिलो खेलमा थाइल्यान्डलाई पराजित गरेको थियो । नेपालको यो जितेसँगै मलेसिया पनि अन्तिम चारमा प्रवेश गरेको छ ।



