काठमाडौं । एसीसी इस्ट जोन यू-१६ प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा घरेलु टोली मलेसियालाई हराउँदै नेपाल समूह ए को विजेता बनेको छ ।
बायोमास ओभल क्रिकेट मैदानमा नेपालले मलेसियालाई ८४ रनले पराजित गरेको हो ।
नेपालले दिएको १८४ रनको लक्ष्य पछ्याएको मलेसिया ३०.५ ओभरमा ९९ रन बनाउँदै अलआउट भयो ।
मलेसियाका लागि मोहम्मद हैरिलले ५४ बलमा २५ रन बनाए । कप्तान मोहम्मद आलिफले १५ तथा मुहम्मद अक्रमले १२ रन बनाए ।
मलेसियाका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका लागि अशोक धामीले ७ ओभरमा १४ रन खर्चिएर ४ विकेट लिए । कप्तान अभिषेक तिवारीले ३ तथा सन्तोष यादवले २ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ३३ दशमलब ४ ओभरमा अलआउट हुँदै १८३ रन बनाएको थियो ।
नेपालका लागि अशोक धामीले ३६ बलमा ३ चौका र ५ छक्का सहित ५२ रनको अर्धशतकीय ईनिङ खेले ।
नेपालको १५ रन हुँदा पहिलो विकेट गुमेको थियो । ओपनर निरज कुमार ६ बलमा ८ रन बनाउँदै आउट भएका थिए । दोस्रो विकेटका लागि दिप कुमार र सुर्यांशु कोईरालाले ४२ बलमा ३३ रनको साझेदारी गरेका थिए ।
सुर्यांशुले २० बलमा २३ रन बनाए । दिप कुमार ४१ बलमा १५ रन बनाउँदै आउट भए । त्यसपछिका खेलाडीहरु क्रिजमा जम्न सकेनन् । आठौं विकेटका लागि नरेन भट्ट र अशोक धामीका बीचमा ३४ बलमा ४५ रनको महत्वपूर्ण साझेदारी भएको थियो । नरेन भट्टले ४३ बलमा २९ रन बनाए ।
९१ रनमा ७ विकेट गुमाएको नेपालका लागि धामीको अर्धशतकले बलियो योगफलसम्म पुर्याउन मद्दत गर्यो ।
नवौ विकेटका लागि कृतिक कामतसँग मिलेरले धामीले ३१ बलमा ३९ रनको महत्वपूर्ण साझेदारी गरे । कामतले १७ बलमा १ चौकाको सहयोगमा १६ रन बनाए ।
मलेसियाका लागि मोहम्मद मुकरी, एरिन एकवाल, हरिक हाईकाल र मुहम्मद अक्रमले समान २र२ तथा मोहम्मद फतुलले १ विकेट लिए ।
जितसँगै नेपाल समूह ए को विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको छ । पराजित मलेसिया समूह उप विजेता बनेको छ ।
नेपालले पहिलो खेलमा थाईल्यान्डलाई २२५ रनको फराकिलो अन्तरले हराएको थियो ।



