काठमाडौँ । विभागिय टोली नेपाल पुलिस क्लबको महिला टिम र टिपटप हेल्प नेपालको पुरुष टिमले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय क्लब लिगको उपाधि जितेका छन् ।
शनिबार राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनल खेलमा पुलिसले नेपाल एपिएफ क्लबलाई ३–१ सेटमा पराजित गर्दै उपाधि उचालेको हो । पुलिसले पहिलो सेट २५–१२ ले जितेको थियो । तर, दोश्रो सेट २१–२५ ले एपिएफलाई सुम्पन पुग्यो । खेल १–१ को बराबरीमा गए पछि पुलिसले खेलमा सुधार गर्दै तेश्रो र चौथो सेट २५–२३, २५–१९ ले आफ्नो पक्षमा पार्दै ६ लाख नगद सहित उपाधि जितेको हो ।
यता, उपविजेता एपिएफले नगद ३ लाखमा चित्त बुझायो । यस्तै तेश्रो स्थानमा रहेको होङ्गवान्जी न्यु डायमन्ड युथ स्पोर्टस् क्लबले नगद १ लाख ५० हजार र चौथो स्थानमा रहेको त्रिभुवन आर्मी क्लबले नगद ७५ हजार प्राप्त गर्यो ।
लिगको पुरुष तर्फको खेलमा टिपटप हेल्प नेपाल स्पोर्टस् क्लबले पुरुष तर्फको उपाधि जितेको छ । हेल्प नेपालले पहिलो सेट २५–१९ले आफ्नो पक्षमा पार्यो । दोश्रो सेट पुलिसले २५–११ ले आफ्नो पक्षमा पार्दै खेललाई १–१ सेटको बरावरीमा पुर्यायो । तर, तेश्रो र चौथो सेट २५–१८, २५–१८ ले आफ्नो पक्षमा पार्दै टिपटपले उपाधि उचालेको हो । उपाधिका साथ हेल्प नेपालले नगद ६ लाख सहित ट्रफी प्राप्त गर्यो । उपबिजेता पुलिसले नगद ३ लाख र ट्रफी प्राप्त गर्यो ।
तेश्रो स्थानमा त्रिभुवन आर्मी क्लब रह्यो । आर्मीले नगद १ लाख ५० हजार प्राप्त गर्यो । यस्तै चौथो स्थानमा रहेको एपिएफले नगद ७५ हजार प्राप्त गर्यो ।
८ दिन सम्म चलेको लिगमा सर्वोत्कृष्ट खेलाडी महिला तर्फ नेपाल पुलिस क्लबकी पुनम चन्द र पुरुष तर्फ टिपटप हेल्प नेपालका अईमल खान घोषित भए । सर्वोत्कृष्ट खेलाडीहरूले जनही ३५ हजार प्राप्त गरे ।
नेपाल पुलिसकी शान्तिकला तामाङ्ग उत्कृष्ट लिवेरो, कमला पुन उत्कृष्ट सेटर, उषा भण्डारी उत्कृष्ट स्पाईकर, रुपेश बिष्ट उत्कृष्ट प्रशिक्षक र सुमित्रा रेग्मी उदिमान खेलाडी घोषित भए । यस्तै एपिएफकी सरस्वती चौधरी उत्कृष्ट सर्भर र आर्मीकी संगम महतो उत्कृष्ट ब्लकर घोषित भए ।
पुरुष तर्फ हेल्प नेपालका टोप बहादुर थापा उत्कृष्ट लिवेरो, अद्नान खान उत्कृष्ट सेटर, मजहर अली उत्कृष्ट स्पाईकर र उत्सव खड्का उत्कृष्ट प्रशिक्षक घोषित भए । यस्तै उत्कृष्ट सर्भरमा एपिएफका हेमन्त मल्ल, उत्कृष्ट ब्लकरमा आर्मीका दुर्गा बहादुर खड्का र उदियमान खेलाडीमा नेपाल पुलिसका रविन चन्द घोषित भए ।
विधागत तर्फका उत्कृष्टले जनही नगद १५ हजार र उदियमान खेलाडीहरूले जनही १० हजार प्राप्त गरे ।



