शुक्रबार, भाद्र २६ गते २०८३
images

गत आर्थिक वर्षमा नेपाली चलचित्रले गरेको कमाईको तथ्याङ्क सार्वजनिक, कुन चलचित्रले कति कमाए?

एक्सप्रेस पाना
श्रावण ५, २०८० शुक्रबार
  • 338
    SHARES
  • गत आर्थिक वर्षमा नेपाली चलचित्रले गरेको कमाईको तथ्याङ्क सार्वजनिक, कुन चलचित्रले कति कमाए?

    काठमाडौँ । चलचित्र विकास बोर्डले गत आर्थिक वर्ष २०७९/८० मा प्रदर्शन भएका स्वदेशी चलचित्रले गरेको कमाईको तथ्याङ्क सार्वजनिक गरिएको छ ।

    images

    सो तथ्याङ्कअनुसार स्वदेशी ५७ र विदेशी ७८ चलचित्र प्रदर्शन भएका छन् । स्वदेशी ५७ चलचित्र प्रदर्शन भएबापत रु ७६ करोड ७२ लाख ५७ हजारको व्यापार भएको छ ।

    स्वदेशी चलचित्रतर्फ सर्वाधिक व्यापार गर्न सफल चलचित्रको सूचीमा हेमराज विसीले निर्देशन गरेका ‘छक्का पञ्जा ४’ पहिलो स्थानमा छ ।

    images

    बोर्डको विवरणअनुसार छ लाख २९ हजार सात सय ५० टिकट बिक्री भएबापत ‘छक्का पञ्जा ४’ को रु १७ करोड ५२ लाख ९९ हजार एक सय ५९ ग्रस व्यापार भएको छ ।  

    हास्यकलाकारको समूहले टेलिशृङ्खलामा पाइरहेको लोकप्रियतालाई ठूलो पर्दामा ल्याउन अभिनेता दीपकराज गिरीले ‘६ एकान ६’ मार्फत चलचित्र निर्माण सुरु गरेका थिए ।

    त्यसपछि ‘वडा नम्बर ६’ हुँदै ‘छक्का पञ्जा’ निर्माण गरेको समूह अहिले यसकै शृङ्खलालाई अगाडि बढाइरहेको छ । 

    सर्वाधिक कमाई गर्ने दोस्रो स्थानमा उपेन्द्र सुब्बाले निर्देशन गर्नुभएको चलचित्र ‘जारी’ रहेको छ ।

    शनिबार प्रदर्शनको सय दिन पूरा गर्ने चलचित्रको गत असार ३१ सम्म बोर्डको विवरणअनुसार छ लाख १९ हजार दुई सय २१ टिकट बिक्री भएबापत रु १७ करोड १७ लाख ९९ हजार १८ ग्रस व्यापार भएको छ ।

    सर्वाधिक कमाई गर्ने सूचीको तेस्रो स्थानमा सन्तोष सेन र छेतेन गुरुङले निर्देशन गरेका ‘प्रेमगीत ३’ रहेको छ । ‘प्रेम गीत’ को तेस्रो शृङ्खलाका रूपमा ‘प्रेम गीत ३’ नेपालीसँगै हिन्दी भाषामा प्रदर्शन भएको थियो । चलचित्रको नेपाली भाषामा दुई लाख ६९ हजार आठ सय आठ टिकट बिक्री भएबापत सात करोड ७० लाख ३५ हजार पाँच सय ५८ र हिन्दी भाषामा ८३ हजार एक सय ६९ टिकट बिक्री भएबापत रु दुई करोड २७ लाख २९ हजार आठ सय ६७ को ग्रस व्यापार भएको छ ।

    चौथो नम्बरमा प्रदीप भट्टराईले लेखन तथा निर्देशन गरेको चलचित्र ‘महापुरुष’ रहेको छ । चलचित्रको दुई लाख ४७ हजार सात सय २८ टिकट बिक्री भएबापत रु सात करोड ३८ लाख ९१ हजार नौ सय २० को ग्रस व्यापार गरेको छ ।

    पाँचौँ स्थानमा रहेको दीपेन्द्र लामाले लेखन तथा निर्देशन गरेका चलचित्र ‘दुई नम्बरी’ को एक लाख ४१ हजार सात सय १३ टिकट बिक्री भएबापत तीन करोड ८४ लाख ७५ हजार सात सय ७० को ग्रस व्यापार भएको छ । 

    यस्तै छैटौँ स्थानमा रहेको रामबाबु गुरुङले निर्देशन गरेको चलचित्र ‘फूलबारी’ को एक लाख २६ हजार पाँच सय ४९ टिकट बिक्री भएबापत रु तीन करोड ५३ लाख २० हजार चार सय ७९ को ग्रस व्यापार भएको छ । 

    सार्वजनिक विवरणमा सर्वाधिक व्यापार गर्ने सातौ  स्थानमा रहेको ज्ञानेन्द्र देउजाले निर्माण तथा निर्देशन गरेको चलचित्र ‘झिङ्गेदाउ’ को एक लाख २२ हजार तीन सय २७ टिकट बिक्री भएबापत रु तीन करोड ४१ लाख १३ हजार दुई सय २३ ग्रस व्यापार गरेको छ । बोर्डले सार्वजनिक गरेको तथ्याङ्कले पनि दर्शकले स्वदेशी चलचित्रतर्फ मौलिक विषयवस्तुलाई रुचाएको प्रस्टिएको छ ।