काठमाडौं । एसिया कपको तयारीका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम अभ्यास खेलमा स्थानीय क्लबसँग पराजित भएको छ।
कोलम्बोको ब्लूमफिल्ड क्रिकेट क्लबसँग नेपाल ६ विकेटले पराजित भएको हो।
नेपालले दिएको १९८ रनको लक्ष्य ब्लूमफिल्डले ४ विकेटको क्षतिमा २४.३ ओभरमा पूरा गर्यो।
ब्लूमफिल्डका लागि बोयागोदाले ९० रन जोडे भने अशन फर्नान्डोले नटआउट ५६ रन बनाए।
बलिङमा नेपालका प्रतिश जिसी र सूर्य तामाङले २/२ विकेट लिए।
त्यसअघि ब्लूमफिल्ड क्रिकेट क्लब मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४३.४ ओभरमा १९७ रनमा अलआउट भयो।
नेपालका लागि ओपनिङ गरेका अर्जुन साउदले सर्वाधिक ७९ रन जोडे। अर्का ओपनर देव खनाल २२ रनमा आउट भएका थिए।
गुल्सन झा ९ रन, सन्दीप जोरा ३१ रन, कुशल मल्ल ३ रन, पवन सर्राफ १० रन, सोमपाल कामी ११ रन, प्रतिश जिसी १६ रन, सूर्य तामाङ शून्य, करण केसी ११ रनमा आउट भए।
बलिङमा ब्लूमफिल्डका वानिनायके र सामरावीराले २/२ विकेट लिन सफल भए।
श्रीलंकामा १५ दिनको प्रशिक्षण रहेको नेपाली टिमले अब थप तीन अभ्यास खेल खेल्नेछ।



