काठमाडौं । फिफा महिला विश्वकप फुटबलमा स्वीडेन र फ्रान्स विजयी भएका छन् ।
शनिबार सम्पन्न खेलमा फ्रान्सले ब्राजिललाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
फ्रान्सका लागि खेलको ८३औं मिनेटमा वेंडी रेनार्डले निर्णायक गोल गर्दै जित दिलाएकी थिइन् ।
यस अघि खेलको १७औँ मिनेटमा फ्रान्सकी एउजेने सोम्मेरले गोल गर्दै शुरुवाती अग्रता दिलाएकी थिइन् भने ब्राजिलकी डेबोरा क्रिस्टिन ओलिभेराले खेलको ५८औं मिनेटमा बराबरी गोल गरेकी थिइन् ।
यो जितसँगै फ्रान्स २ खेलमा ४ अंकसहित समुह एफमा शिर्ष स्थानमा रहेको छ । फ्रान्सले आफ्नो पहिलो खेलमा जमैकासँग बराबरी खेलेको थियो ।
त्यस्तै ब्राजिलले भने २ खेलमा एक जित र एक हारसहित ३ अंक बटुलेर दोस्रो स्थानमा रहेको छ ।
शनिबार सम्पन्न खेलमा स्वीडेनले इटालीलाई ५-० गोल अन्तरले पराजित गरेको छ ।
स्वीडेनको जितमा अमान्डा लेस्टेडिटले दुई गोल गरेकी थिइन् भने फ्रिडोलिना रोल्फो, स्टीना ब्ल्याकस्टेनिअस र रेबेक्का ब्लोमक्वीभिस्टले एक एक गोल गरेका थिए ।
योसँगै लगातार दोस्रो जितपछि स्वीडेनले समुह जी बाट राउण्ड १६ मा आफ्नो स्थान सुरक्षित गरेको छ । स्वीडेनको २ खेलमा ६ अंक रहेको छ । त्यस्तै इटालीको २ खेलमा ३ अंक छ भने दक्षिण अफ्रिका र अर्जेन्टिनाको २-२ खेलमा १/१ अंक रहेको छ ।
अब समुह चरणको अन्तिम खेलमा स्वीडेनले अर्जेन्टिनाको सामना गर्ने छ भने इटालीले दक्षिण अफ्रिकाको सामना गर्ने छ ।



