शुक्रबार, श्रावण २९ गते २०८३
images
images

भारत र पाकिस्तानलाई एकैपटक हराउन सक्दैन : कप्तान रोहित

एक्सप्रेस पाना
श्रावण १८, २०८० बिहीबार
  • 414
    SHARES
  • भारत र पाकिस्तानलाई एकैपटक हराउन सक्दैन : कप्तान रोहित

    काठमाडौं । नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले खेल्नेबित्तिकै एशोसिएटले टेस्ट प्लेइङ राष्ट्रलाई हराउन नसक्ने बताएका छन्। चरणबद्धरुपमा टोलीमा सुधार हुँदै जाने भएको कारण भारत र पाकिस्तानलाई एकैपटक हराउन नसक्ने उनले बताएका हुन्। 

    images

    नेपाल क्रिकेट संघ (क्यान)ले श्रीलंकामा राखेको ‘हाइ पफर्मेन्स क्याप’मा प्रशिक्षण गरेर फर्किएपछि कप्तान रोहितले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा उक्त कुरा बताएका हुन्। “एशोसिएट र टेस्ट प्लेइङ क्रिकेटमा फरक त भइहाल्छ। एशोसिएटमा त जित्छौँ, तर टेस्टमा गाह्रो छ। हामी सोच्छौँ जानेबित्तिकै टेस्ट प्लेइङलाई जित्छौँ। त्यो रियालिस्टिक हुँदैन जस्तो लाग्छ। एक महिनामै टोलीमा चेन्जेज आउँछ भन्ने छैन। बिस्तारै बिस्तारै चेन्ज आउँछ,” उनले भने।

    नेपालले श्रीलंका जानुअघि जिम्बावेमा नेपालले एक दिवसीय विश्वकप छनोट खेलेको थियो। तर, नेपाल समूह चरणबाटै बाहिरियो। यद्यपि, नेपालले घरेलु टोली, वेस्ट इन्डिज र आयलरल्यान्डजस्ता टेस्ट प्लेइङ राष्ट्रसँग खेलेको थियो। यस्तै, नेदरल्यान्ड, अमेरिका र यूएईसँग पनि खेल्यो।

    images

    तर, नेपालले एशोसिएट राष्ट्र अमेरिका र यूएईलाई मात्रै पराजित गर्न सक्यो। त्यसपछि नेपालले श्रीलंकामा एसीसी इमर्जिङ टिम्स कप खेलेको थियो। 

    इमर्जिङ कपमा नेपालले टेस्ट प्लेइङ राष्ट्र भारत र पाकिस्तानसँगै यूएईसँग खेलेको थियो। तर, नेपालले पुन: यूएईको ‘ए’ टोलीलाई मात्रै पराजित गर्न सक्यो। समग्रमा दुवै प्रतियोगितामा नेपालको ब्याटिङ कमजोर देखिएको थियो। तर, कप्तान रोहितले भने टोलीमा बिस्तारै चेन्जेज आइरहेको बताए। 

    “एक महिनामा केही पनि चेन्ज हुँदैन। एक महिनाका कोही पनि विराट कोहली हुँदैन बाबर आजम बन्दैन। टाइम लाग्छ,” उनले भने। मुख्य प्रशिक्षक मोन्टी देसाईँले इमर्जिङ कपमा ज्ञानेन्द्र मल्ल, करण केसी र आरिफ शेखलाई बिश्राम दिएर देब खनाल, सन्दीप जोरा, सूर्य तामाङ, किशोर महतो र श्याम ढाकाललाई मौका दिएका थिए। सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले भने क्यानडामा ग्लोबल टी२० कारण इमर्जिङ कप गुमाएका थिए। 

    इमर्जिङ कपबाट युवा खेलाडीले ‘एक्सपोजर’ पाएको उनले बताए। “भारत र पाकिस्तान ‘ए’ टिम राम्रो छ। उक्त खेलमा बलिङ अट्याक गर्न र राम्रोसँग बल खेल्न पाए। आउने एशिया कपमा यसले हेल्प गर्छ,” उनले भने।

    श्रीलंकामा आयोजना भएको ‘हाइ पफर्मेन्स क्याप’मा भने यी दुई प्रतियोगितामा देखिएको समस्याको सुधार गरेको बताए। “स्किलमा काम गर्‍यौँ, सट बलमा। होपफुली राम्रो हुन्छ भन्ने लागेको छ। १४५/१५० स्पिड इजी हुन्छ भन्ने हुँदैन,” उनले भने।

  • सम्बन्धित विषय:

  • # क्रिकेट