काठमाडौँ । अस्ट्रेलिया र न्युजिल्यान्डमा जारी फिफा विश्वकप महिला फुटबल प्रतियोगिता २०२३ को सेमिफाइनल समिकरण पूरा भएको छ।
शनिबार सम्पन्न अन्तिम क्वाटरफाइनलको खेलमा कोलम्बियालाई २-१ गोल अन्तरले हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा पुगे सँगै अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो।
इंग्ल्यान्डको जितमा लाउरेन हेम्प र अलेस्सिया रुसोले एक एक गोल गरेका हुन्। त्यस्तै कोलम्बियाका लागि लेइसी सान्तोसले एक गोल गरेकी थिइन् ।
यो सँगै इंग्ल्यान्ड महिला विश्वकपमा अहिलेसम्म यो तेस्रो पटक सेमिफाइनलमा पुगेको हो।
यस अघि शुक्रबार भएको खेलमा जापानलाई २-१ गोलले हराउँदै स्वीडेन र नेदरल्यान्ड्सलाई २-१ गोलले हराउँदै स्पेन पनि अन्तिम चारमा पुगेको थियो।
अब पहिलो सेमिफाइनलमा स्पेन र स्विडेन भिड्ने छन् । यो खेल अगस्त १५ मा हुने छ ।
यस्तै आज शनिबार सम्पन्न क्वाटरफाइनलको खेलमा पेनाल्टी सुटआउटमा फ्रान्सलाई स्तब्ध पार्दै आयोजक अस्ट्रेलिया सेमिफाइनलमा पुगेको हो ।
अब अस्ट्रेलियाले सेमिफाइनल खेलमा इंग्ल्यान्डको सामना गर्ने छ । अस्ट्रेलिया र इंग्ल्यान्डबीचको सेमिफाइनल खेल अगस्त १६ मा हुने छ ।
निर्धारित ९० मिनेट र त्यसपछिको ३० मिनेटको अतिरिक्त समयमा गोलरहित बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो ।
निकै प्रतिष्पर्धात्मक रहेको पेनाल्टी सुटआउटमा अस्ट्रेलियाले फ्रान्सलाई ७-६ ले पराजित गरेको थियो । योजितसँगै अस्ट्रेलिया पहिलो पटक विश्वकपको सेमिफाइनलमा पुगेको छ ।



