काठमाडौँ । क्रिस्टियानो रोनाल्डो दुई गोलको सहयोगमा साउदी क्लब अल नासर पहिलो पटक अरब क्लब च्याम्पियनसिपको उपाधि जितेको छ ।
गएराती सम्पन्न फाइनल खेलमा साउदी प्रतिद्वन्दी अल हिलाललाई २-१ गोल अन्तरले पराजित गर्दै अल नासर च्याम्पियन बनेको हो ।
अल नासरको जितमा दुवै गोल क्रिस्टियानो रोनाल्डोले गरेका थिए । १-० गोलले पछि परेको अल नासरका लागि रोनाल्डोले खेलको ७४औं मिनेटमा गोल गर्दै बराबरी गरेका थिए ।
निर्धारित ९० मिनेटको खेलमा १-१ गोलको बराबरी भएपछि खेल अतिरक्त समयमा गएको थियो । त्यसपछि खेलको ९८औं मिनेटमा रोनाल्डोले दोस्रो गोल गर्दै अल नासरलाई जिताएका थिए ।
अल हिलालका लागि खेलको ५१औं मिनेटमा माइकलले शुरुवाती गोल गरेका थिए ।
यस खेलमा अल नासरका अब्दुलेलाह अल अमिरी र नवाफ बोउशालले रातो कार्ड पाएका थिए । अमिरीले खेलको ७१औं र बोउशालले खेलको ७८औं मिनेटमा रातो कार्ड पाएका थिए ।
अरब देशका ३७ क्लबले भाग लिएको यस प्रतियोगितामा अल नासरले पहिलो पटक उपाधि जितेको हो । यस प्रतियोगितामा रोनाल्डोले सर्बाधिक ६ गोल गर्दै गोल्डेन बुट जितेका थिए ।



