काठमाडौँ । पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोको आगमनपछि साउदी प्रो लिगको आम्दानी ६५० प्रतिशतले बढेको छ।
साउदी प्रो लिगका प्रमुख कार्लो नोहराले रोनाल्डोको आगमनपछि साउदी लिगमा ठुलो प्रभाव परेको बताउदै लिगको आम्दानी मात्र ६५० प्रतिशतले बढेको बताएका छन्।
रोनाल्डोको आगमनपछि यस अघि खासै चर्चामा नरहेको साउदी लिग अहिले विश्वका १४० देशमा प्रशारण भइरहेको र साउदी लिगले ग्लोबल रिच पाएको नोहराले एएफपीसँगको कुराकानीमा बताएका छन्।
यो ओभरनाइट हुने कुरा होइन नकी यो एक साताको इभेन्ट हो। यो दिर्घकालिन योजना हो। जुन सबैले बुझेका छन्।
उनले अगाडी भनेका छन् 'यो सबै पैसा फालेर हुने कुरा पनि होइन। हामीले सबै कुरा सहि ठाउमा ल्याउन सहि काम गरिरहेका छौं। यसले इको सिस्टम जस्तो गरि काम गर्ने छ।'
गत जनवरीमा बार्षिक २०० मिलियन डलर पारिश्रमिक लिने गरि साउदी क्लब अल नासरमा जादा रोनाल्डोले पैसालाई महत्व दिएर गएको भन्दै आलोचना भएको थियो तर, जनवरीदेखि अहिलेसम्म साउदी लिगको चर्चा विश्वभर भइरहेको छ। अहिले रोनाल्डोलाई पछ्याउदै उनकै पूर्व सहकर्मी करिम बेन्जमा, नेइमार, साडियो माने, रियाद महरेज, एन्गोलो कान्टे, रोबेर्ट फिर्मिनो, रुबेन नेभेज जस्ता खेलाडी साउदी लिगमा पुगिसकेका छन्।
यति मात्र होइन साउदी प्रो लिगले सुपर स्टार खेलाडीहरु आफ्नो लिगमा आएपछि युरोपियन फुटबल फेडेरेसन (युइएफए) सँग च्याम्पियन्स लिगको दायारा फराकिलो बनाउन र साउदी लिगबाट पनि वाइल्ड कार्डमा क्लबलाई प्रवेश गराउन पहल शुरु गरेको छ।



