काठमाडौं । आजदेखि एशियाको सबैभन्दा ठुलो क्रिकेट प्रतियोगिता एशिया कप शुरु हुँदैछ।
एशिया कपका चार खेल पाकिस्तानले आयोजना गर्दै छ भने बाँकी खेलहरु श्रीलंकामा हुने छन्।
पहिलो पटक एशिया कप खेल्न लागेको नेपालले उद्घाटन खेलमै आज पाकिस्तानको सामना गर्दै छ।
पाकिस्तानको मुल्तान क्रिकेट स्टेडियममा हुने यो डे(नाइट खेल नेपाली समय अनुसार अपराहन्न ३:१५ देखि शुरु हुदै छ।
यस्तै, नेपालले दोस्रो खेलमा भारतविरुद्ध सेप्टेम्बर ४ मा श्रीलंकामा खेल्नेछ।
एकदिवसीय फर्म्याटमा खेलिने एशिया कपको यो १६औं संस्करण हुन लागेको हो।
एशिया कपको फाइनल खेल सेप्टेम्बरमा प्रेमदासा स्टेडियम श्रीलंकामा हुने छ।
नेपालले एशिया कपमा पहिलो पटक आफ्नो सहभागिता जनाउन लागेकाले पनि नेपालमा यसको विशेष चासो रहेको छ। त्यसमा पनि नेपाल भारत र पाकिस्तानको समुहमा रहेकाले नेपाली क्रिकेट प्रेमीहरुबीच चासो बढेको हो।
अहिलेसम्म कुन कुन देशले जिते एशिया कप :एशिया कपका यस अघिका १५ संस्करणमा २०१६ र २०२२ मा टी-२० फर्म्याटमा खेलिएको थियो भने १३ संस्करण एकदिवसीय फर्म्याटमा खेलिएको छ। अहिलेसम्म भारतले सबैभन्दा बढी ७ पटक एशिया कपको उपाधि जितेको छ भने ३ पटक उपविजेता बनेको छ । भारतले १९८४, १९८८, १९९०/९१, १९९५, २०१०, २०१६ र २०१८मा एशिया कपको उपाधि जितेको थियो।
त्यस्तै श्रीलंकाले अहिलेसम्मका सबै १५ संस्करणमा भाग लिएर ६ पटक उपाधि जितेको छ भने ६ पटक नै उपविजेता बनेको छ। श्रीलंका एशिया कपको डिफेन्डिङ च्याम्पियन पनि हो। श्रीलंकाले १९८६, १९९७, २००४, २००८, २०१४ र २०२२ मा एशिया कपको उपाधि जितेको थियो।
त्यस्तै पाकिस्तानले १४ पटक एशिया कप खेल्दै २ पटक उपाधि जितेको छ भने ३ पटक उपविजेता बनेको छ। पाकिस्तानले २००० र २०१२ मा एशिया कपको उपाधि जितेको थियो।
त्यस्तै बंगलादेश अहिलेसम्म १४ पटक एशिया कप खेलेको छ भने ३ पटक उपविजेता बनेको छ।
नेपाली टिम:
रोहितकुमार पौडेल ९कप्तान०, आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुलशन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद र श्याम ढकाल।



