सिन्धुपाल्चोक । चौतारा फुटबल क्लबको आयोजनामा सोमबार (आज) बाट सुरु भएको पहिलो संस्करणको सेभेन ए साइड श्रीकृष्ण कप नकआउट फुटबल प्रतियोगितामा पाँच खेल सम्पन्न भएको छ।
प्रतियोगिताको उद्घाटन खेलमा क्रेटिभ युथ क्लबले सहिद स्मृति युथ क्लबलाई १-० गोलले हराएको थियो।
दोस्रो खेलमा सुकेटेबीच गाइज्जले भिमेश्वर युथ क्लबलाई २-० गोलले पराजित गर्यो।
तेस्रो खेलमा धार्पा युथ क्लबले छाप युवा जागरणलाई ४-१ गोलको फराकिलो अन्तरले पराजित गरेको थियो।
चौथो खेलमा चौतारा संगाचोकगढी नगरपालिका वडा ६ पिपलडाँडाले चर्च ब्वाइज सिन्धुपाल्चोकलाई समान ४-१ गोलको फराकिलो अन्तरले पराजित गर्यो।
यस्तै, दिनको अन्तिम खेलमा एलबीआर युथ क्लबले चौतारा संगाचोकगढी नगरपालिका वडा नम्बर सातलाई १-० गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको छ।
प्रतियोगिताको उद्घाटन खेलमा प्रमुख अतिथि चौतारा सांगाचोकगढी नगरपालिका नगर उप-प्रमुख सीता थापा तथा विशेष अतिथि सिन्धुपाल्चोक जिल्ला फुटबल संघका अध्यक्ष अमृतमान श्रेष्ठले रेफ्रीलाई बल हस्तान्तरण गर्दै प्रतियोगितालाई सफलताको शुभकामना दिनु भयो।
जारी प्रतियोगिता सिन्धुपाल्चोक जिल्ला सदरमुकाम चौतारा टुडीखेलस्थित मिनि रंगशालामा आगामी २२ गतेसम्म सञ्चालन हुनेछ।
२५ टोली सहभागी रहेको यस प्रतियोगिताको विजेता नगद ५५ हजार, उपविजेता २५ हाजर ट्रफी मेडल प्राप्त गर्ने छ।



