काठमाडौँ, भदौ ३० गते । प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामा शनिबार वडा नं ११, वडा नं १३ वडा नं २६ र वडा नं १५ आ आफ्नो खेल जितेर क्वाटरफाइनलमा प्रवेश गरेका छन्।
महानगरपालिकाका वडाहरु बीच लैनचौर फुटसल मैदानमा भइरहेको प्रतियोगिताअन्तर्गत शनिबार पहिलो खेलमा वडा नं ११ ले वडा नं १२ लाई ३–२ ले पराजित गर्यो। विजयी टिमका लागि जनक सिलवाल, धनकुमार श्रेष्ठ र विक्रम महर्जनले गोल गरे। वडा नं १२ का लागि दुवै गोल मनोज महर्जनले गरे। सो खेलमा वडा ११ का रुपेश क्षेत्री म्यान अफ दि म्याच चुनिए।
दोस्रो खेलमा वडा नं १३ ले वडा नं २८ लाई ३–१ ले हरायो। वडा नं १३ का लागि अकिंत खड्गी आसिस कपाली र अभय रानाले गोल गरे। वडा २८ का उदेश खड्गीले सान्त्वना गोल फर्काए।
तेस्रो खेलमा वडा नं २६ ले वडा नं ८ लाई २–० ले निराश बनायो। सो खेलमा दुवै गोल अनुक मसलले गरे।
शनिबार भएको अन्तिम खेलमा वडा नं १५ ले वडा नं २ लाई २–० ले हरायो। वडा १५ का लागि सुरेश परियार र विशाल महर्जनले गोल गरे।
आइतबार प्रिक्वाटरफाइनलअन्तर्गत वडा नं ९ र वडा नं ४, वडा नं २७ र वडा नं १७, वडा नं २२ र वडा नं ३२ तथा वडा नं २३ र वडा नं १४ बीच खेल हुनेछ।
नकआउटको आधारमा भइरहेको प्रतियोगितामा विजेता टिमलाई ट्रफीसहित दुई लाख रुपियाँ प्रदान गरिनेछ। उपविजेता टिमले एक लाख रुपियाँ प्राप्त गर्नेछ। यसैगरी, विधागततर्फ उत्कृष्ट हुने सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वश्रेष्ठ गोलरक्षकलाई जनही दस हजार रुपियाँले पुरस्कृत गरिनेछ।



