काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यानचेस्टर सिटी, लिभरपुल र टोटनह्याम विजयी भएका छन्।
शनिबार सम्पन्न खेलमा म्यानचेस्टर सिटीले वेस्टह्यामलाई ३-१ गोल अन्तरले पराजित गरेको हो। पहिलो हाफमा १-० ले पछि परेको सिटीले खेलको दोस्रो हाफमा कमब्याक गर्दै ३ गोल गरेको थियो।
सिटीका लागि जेरेमी डोकु, बेर्नार्डो सिल्भा र इर्लिंग हालाण्डले १/१ गोल गरे। त्यस्तै गरि वेस्टह्यामका लागि जेम्स वार्ड प्रोवजले १ गोल गरेका थिए।
यो जितपछि म्यानचेस्टर सिटीले लिगमा शतप्रतिशत जित निकाल्दै ५ खेलमा १५ अंक बनाएको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ।
त्यस्तै वेस्टह्यामले यस सिजनमा पहिलो हार बेहोर्दै ५ खेलमा १० अंक हासिल गरेको छ र लिगमा छैटौं स्थानमा रहेको छ।
गएराति नै भएको अर्को खेलमा टोटनह्यामले ९० मिनेटपछिको इन्जुरी समयमा २ गोल गर्दै खेल २-१ ले जितेको थियो।
यसअघि खेलको ७३औं मिनेटमा गुस्ताभो हामरको गोलमा अग्रता लिएको शेफिल्डले ९० मिनेटपछिको इन्जुरी समयमा दुई गोल खाएको थियो।
टोटनह्यामका लागि रिचार्लिशन र डेजान कुलुसेभ्सकीले गोल गरेका थिए।
यो जितपछि टोटनह्यामको ५ खेलमा १३ अंक भएको छ र लिगमा दोस्रो स्थानमा उक्लिएको छ। त्यस्तै शेफिल्डको भने यो हारपछि ५ खेलमा एक अंक रहेको छ र लिगमा १७औँ स्थानमा रहेको छ।
शनिबार सम्पन्न भएको अर्को खेलमा लिभरपुलले वोल्भ्सलाई ३-१ गोल अन्तरले पराजित गरेछ।
लिभरपुल १-० गोलले पछि परेपछि खेलमा दोस्रो हाफमा पुनरागमन गर्दै ३ गोल गरेको थियो।
लिभरपुलको जितमा कोडी गाक्पो र आन्ड्रेव रोबेर्टसनले एक एक गोल गरेका थिए। त्यस्तै एक गोल वोल्भ्सका हुगो बुएनोले आत्मघाती गोल गरेका थिए। त्यसैगरी वोल्भ्सका लागि ह्वांग ही चानले एक गोल गरेका थिए।
यो जितपछि लिभरपुलको ५ खेलमा १३ अंक भएको छ र लिगमा शिर्ष स्थानमा उक्लिएको छ। यो हारपछि ५ खेलमा ३ अंक हासिल गरेको छ र लिगमा १५औं स्थानमा रहेको छ।
अन्य खेलको नतिजा
म्यान्चेस्टर युनाईटेड १-३ ब्राइटन
एस्टन भिल्ला ३-१ किस्टल प्यालेस
न्युक्यासल १-० ब्रेन्टफोर्ड
फुलह्याम १-० लुटन टाउन



