काठमाडौं । घरेलु टोली श्रीलंकाले एसिसी एसिया कपको फाइनलमा भारतविरुद्ध पहिलो ब्याटिङ गर्ने भएको छ।
कोलम्बोस्थित आर प्रेमादासा क्रिकेट मैदानमा भएको टसमा श्रीलंकाका कप्तान दासुन सनाकाले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका हुन्।
भारतले हालसम्म १५ संस्करण आयोजना हुँदा सर्वाधिक सात पटक उपाधि जितेको छ। श्रीलंकाले ६ पटक उपाधि जितेको छ।
घरेलु दर्शक र मैदानको फाइदा उठाउँदै श्रीलंका भारतसँग उपाधि बराबर गर्ने योजनामा छ। युवा टोलीको साथ पाएको श्रीलंकाले पछिल्ला खेलहरुमा सानदार प्रदर्शन गर्दै आएको छ। रोहित शर्मा कप्तानीमा रहेको भारत सन् २०१८ पछि पहिलो पटक उपाधि जित्ने योजनामा छ।
भारत शीर्ष स्थानमा रहँदै एक खेलअघि नै फाइनलमा स्थान बनाएको थियो। श्रीलंका अन्तिम खेलमा पाकिस्तानलाई दुई विकेटले हराउँदै उपाधि नजिक पुगेको हो। सुपर फोरको अन्तिम खेलमा भारत अप्रत्याशित रूपमा बंगलादेशसँग ६ रनले पराजित भएको थियो।
६ टोली सहभागी एसिया कपको १६औँ संस्करणमा एसोसिएट राष्ट्र नेपाल र टेस्ट राष्ट्र अफगानिस्तान समूह चरणबाटै बाहिरिएका थिए। नेपाल पहिलोपटक एसिया कपमा सहभागी भएको थियो।



