काठमाडौँ, भदौ ३१ । प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ।
सोमबार वडा नं ४, वडा नं १४, वडा नं २६ र वडा नं १३ सेमिफाइनल पुगे सँगै सेमिफाइनल समिकरण पूरा भएको हो।
लैनचौर फुटसल मैदानमा भएको पहिलो क्वाटरफाइनलमा वडा नं १४ ले वडा नं ३२ लाई २–१ ले हरायो। वडा नं १४ का मनिष रानाभाटले दुवै गोल गरे। वडा नं ३२ ले आत्मघातीरुपमा एक गोल प्राप्त गर्यो। वडा नं १४ का सरोज लामिछानेले आफ्नै गोलपोस्टमा बल छिराएका थिए।
दोस्रो क्वाटरफाइनलमा वडा नं २६ ले वडा नं १५ लाई २–० ले हरायो। विजयी टिमका लागि प्रशान्त नेपाल रजक र करुण खड्गीले गोल गरे।
तेस्रो क्वाटरफाइनलमा वडा नं ४ ले वडा नं १७ लाई ७–१ ले सजिलै पराजित गर्यो। वडा नं ४ का विक्रान्त नरसिंह रानाले दुई गोल गरे। अन्य गोल प्रजेश अधिकारी, असिम गुरुङ, सरोज थापा, मयंक गुरुङ र म्रियङ गुरुङले गरे। वडा नं १७ का सगन महर्जनले गरेको गोल सान्त्वना मात्र बन्यो।
चौथो तथा अन्तिम क्वाटरफाइनलमा वडा नं १३ ले वडा नं ११ लाई १–० ले हरायो। अभय रानाको गोलले वडा नं १३ विजयी भएको हो।
काठमाडौँ महानगरपालिकाका वडाहरु बीच आयोजना भएको प्रतियोगिताअन्तर्गत मङ्गलबार सेमिफाइनमला वडा नं ४ ले वडा नं १४ तथा वडा नं २६ ले वडा नं १३ को सामना गर्नेछ।
नकआउटको आधारमा भइरहेको प्रतियोगितामा विजेता टिमलाई ट्रफीसहित दुई लाख रुपियाँ प्रदान गरिनेछ। उपविजेता टिमले एक लाख रुपियाँ प्राप्त गर्नेछ। यसैगरी, विधागततर्फ उत्कृष्ट हुने सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वश्रेष्ठ गोलरक्षकलाई जनही दस हजार रुपियाँले पुरस्कृत गरिनेछ।



