काठमाडौं । पाकिस्तानी डिफेन्डर खेलमा हाबी हुँदा घरेलु टोली नेपाल साफ यू-१९ च्याम्पियनसिपको पहिलो खेलमै पराजित भएको छ।
बिहिवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न समूह ए को पहिलो खेलमा साफ यू-१९ च्याम्पियनसिपमा डेब्यू गरेको पाकिस्तानसँग नेपाल १-० गोलअन्तरले पराजित भएको हो।
नेपालले पहिलो र दोस्रो हाफमा केही अवसर सिर्जना गरेको थियो। तर, पाकिस्तानी डिफेन्डर बाधक बने। खेलको अधिकांश समय बलमा नियन्त्रण बनाएको पाकिस्तानले खेलको पहिलो हाफमा नेपालको डिफेन्स लाइनलाई ब्यस्त बनाएको थियो। तर, कप्तान तथा गोलरक्षक जियारथ शेख बाधक बने। यद्यपि, दोस्रो हाफमा उनले पाकिस्तानी खेलाडीलाई रोक्न सकेनन्।
खेलको १५औँ मिनेटमा पाकिस्तानले अग्रता लिने मौका पाएको थियो। मोहम्मद आदिलले बार नजिकै रहेर बल प्रहार गरेका थिए। तर, नेपाली डिफेन्डर अश्विन घरासौनीलाई बिट गर्न नसक्दा बाहिरियो।
२७औँ मिनेटमा पाकिस्तानी शाह जहानको प्रहार नेपालका गोलरक्षक जियारथ शेखले बचाए। डिफेन्डर दीपक थापामगरले पाकिस्तानका खुर्सिद आलमलाई डिबक्स नजिक लडाएपछि पाकिस्तानले फ्रिकक पाएको थियो। तर, जियारथले पञ्च गर्दै बचाए।
३३औँ मिनेटमा आदिल र मोहम्मद जफरले गोलको अवसर पाएपनि नेपाली डिफेन्डर बाधक बने। लगत्तै आदिलले नेपाली गोलरक्षक जियारथ बिट भइसकेको बेला खालि पोस्टमा गोल गर्न चुके।
४०औँ मिनेटमा जहानले डिबक्स बाहिरबाट गरेको प्रहार जियारथले मुस्किलले ड्राइभ गरेर बचाए। कुशल देउवाले आफ्नै साथीलाई बल दिने क्रममा जहानले नियन्त्रणमा लिएका थिए। तर, उनको प्रहार प्रभावकारी भएन।
४५औँ मिनेटमा जफरको प्रहारलाई पुन: जियारथले रोक्दिए। खुर्सिदले डिबक्सबाहिरबाट नेपाली डिफेन्डरलाई बिट गर्दै दिएको प्रहारलाई जफरले प्रहार गरेका थिए। तर, जियारथले पञ्च गर्दै बचाए।
६०औँ मिनेटमा जफरले आयुष तिमिल्सिनालाई बिट गर्दै वान भर्सेज वानको स्थिति निर्माण गरेका थिए। तर, आयुषले पुन: रन बनाउँदै करिब ५ यार्डबाट बल क्लिअर गर्दिए। सो क्रममा जफर लड्न पुगेका थिए। पाकिस्तानी मुख्य प्रशिक्षक शद्दव इफतिखारले साहयक रेफ्रिसँग आपत्ति जनाएपछि पहेंलो कार्ड पाए।
लगत्तै जफरलाई कमिल खानले रिप्लेस गरे। यस्तै, नेपालका निरञ्जन धामीलाई सुजन डंगोलले रिप्लेस गरे।
७६औँ मिनेटमा पाकिस्तानले अग्रता लियो। अलि जफरले करिब ३० यार्डबाट गरेको प्रहारलाई जियारथले बचाउने प्रयास गरेपनि सफल हुन सकेनन्।
दोस्रो हाफको इन्ज्युरी समयमा दीपकले करिब ३० यार्डबाट गरेको प्रहार बाहिरियो। नेपालले अब सोमबार दोस्रो खेल माल्दिभ्ससँग खेल्ने छ। उक्त खेलमा नेपाललाई जितको आवश्यक छ। जितसँगै पाकिस्तानले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ।



