शुक्रबार, श्रावण २९ गते २०८३
images
images

चीनको हाङ्झाओमा आजदेखि एशियाली खेलकुद महाकुम्भ

एक्सप्रेस पाना
आश्विन ६, २०८० शनिबार
  • 279
    SHARES
  • चीनको हाङ्झाओमा आजदेखि एशियाली खेलकुद महाकुम्भ

    काठमाडौँ । चीनका हाङ्झाओमा सहरमा आजरदेखि १९औँ एशियाली खेलकुद प्रतियोगिता (एसियाड)मा सुरु हुँदैछ।

    images

    समारोहमा आयोजक, खेलकुद समिति, प्रशिक्षक, खेलाडी र व्यवस्थापक गरी १२ हजार पाँच सयभन्दा बढीको सहभागिता रहने आयोजकले जानकारी दिएको छ। जसमा ४० खेल, ६१ वटा विधा र चार सय ८१ प्रतिस्पर्धा हुनेछन्। एशियाली खेलकुद कुम्भ मेलाको उद्घाटन चीनका राष्ट्रपति सी चीनफिङले गर्दै छन्।

    खेलाडीको मनोबल बढाउन तथा खेल कूटनीतिमा नेपालको भूमिका स्थापित गर्न चीनको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि उद्घाटन समारोहमा सहभागी हुने छन्।

    images

    प्रतियोगिताको उद्घाटन समारोहमा भाग लिन सिरियालगायत कयौँ मुलुकका राष्ट्रपति र सरकार प्रमुख र नेताहरू हाङ्चाओ सहर पुगेका छन्।

    प्रतियोगितामा एशियाली मुलुकका कीर्तिमानधारी खेलाडीको ठूलो सङ्ख्यामा सहभागिता हुनेछ। भविष्यमा हृदयदेखि हृदयसम्म (हर्ट टु हर्ट एट फ्युचर) मूल नारा रहेको उक्त प्रतियोगिताका लागि हाङ्चाओ सहर हरेक तयारीका हिसाबले चुस्त, व्यवस्थित, सुन्दर, मनमोहक र झकिझकाउ तुल्याइएको छ। हाङ्चाओ ओलम्पिक खेलकुद केन्द्रमा चम्किलो लाइट शोसमेतको व्यवस्थापन गरिएको छ। 

    एशियाली मुलुकका लागि प्रतियोगिता एक आकर्षक र प्रतिष्ठाको विषय बनेको छ। प्रतियोगिता हाङ्चाओका साथै नजिकका छिमेकी सहरमा समेत आयोजना हुनेछ। विश्वका ४५ देशको सहभागिता रहने कुल ४० खेलमध्ये प्रतियोगितामा नेपालको तर्फबाट २९ खेलमा एक सय २७ महिला र एक सय २६ जना पुरुष गरी दुई सय ५३ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

    एसियाडमा नेपालबाट तेक्वान्दोमा ११, फुटबलमा २२, बास्केटबलमा चार, आर्चरीमा चार, एथलेटिक्समा आठ, ब्याडमिन्टनमा आठ, बक्सिङमा १३, ब्रेकिनमा एक, क्यानोइमा एक, क्रिकेटमा १५, साइक्लिङमा दुई र ई–स्पोर्टस्मा २३ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

    करातेमा आठ, गल्फमा छ, कुस्तीमा चार, ह्यान्डबलमा १६, जुडोमा आठ, कपर्दीमा १२, रग्बीमा १२, सुटिङमा दुई, स्क्वासमा छ, पौडीमा चार, फेन्सिङमा छ, टेबल टेनिसमा छ, टेनिसमा छ, ट्रायथलनमा चार, भलिबलमा २४, भारत्तोलनमा पाँच तथा उसुमा १२ खेलाडीको सहभागिता रहनेछ। एसियाडमा ठूलो सङ्ख्यामा नेपाली खेलाडी सहभागीता हुन लागेको पहिलो घटना हो। नेपालले कराँते र तेक्वान्दालगायत मार्सल आर्ट खेल विधामा विगतदेखि नै उत्कृष्ट खेल प्रदर्शन गर्दैआएको छ।

    प्रतियोगीतामा मुलुकका तीन सुरक्षा निकायका विभागीय टोलीबाट एक सय ६२ जना खेलाडी सहभागिता रहनेछ। नेपाली सेनाका ६३, सशस्त्र प्रहरी बलका ५३ र नेपाल प्रहरीका ४६ खेलाडीले विभिन्न खेल विधामा प्रतिस्पर्धा गर्दै छन्।

    प्रतियोगीतामा भाग लिन केही खेलाडी प्रतियोगिता स्थल पुगिसकेका छन् भने केही जाने क्रममा छन्। क्रिकेट होस् वा अरु कुनै पनि खेल विधामा पछिल्लो समय राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले राम्रो प्रदर्शन गरिरहेको छ। एसियाडमा पदक लक्षित गरी नेपालले डेढ महिनादेखि खेलाडीलाई बन्द प्रशिक्षणमा राखेको थियो।

    खेलकुद मात्र एउटा यस्तो विधा हो, शक्तिशाली राष्ट्रका अत्याधुनिक सुविधा सम्पन्न रङ्गशालामा आफनो देशको झण्डा फहर्‍याउने र राष्ट्रिय धुन घन्काउने अवसर प्रदान गर्छ। खेल कुटनीतिमार्फत आपसी सहकार्य, विश्वास, विश्व एकता र पुनर्मिलनका आधार खडा हुने भएकाले खेल क्षेत्रको विकास राष्ट्र विकासको महत्वपूर्ण आधार बनेको छ।

    सरकारले खेल क्षेत्रमा लगानी वृद्धि गर्ने, खेलाडीको आत्म स्वाभिमान, प्रोत्साहन, पुरस्कारको व्यवस्थापन गरेको छ। वृत्ति विकासमा थप योगदान गर्ने, राज्यको भूमिकालाई थप प्रभावकारी र जिम्मेवार बनाउन सरकार प्रयत्नशील छ। एशियाली खेलकुद प्रतियोगितामा सहभागी खेलाडीको विदाई कार्यक्रममा प्रधानमन्त्री दाहालले खेलाडीको मनोबल र वृत्ति विकासलाई सधैँ प्राथमिकतामा राखिने विश्वास दिलाएका थिए।

  • सम्बन्धित विषय:

  • # १९औं एसियाली खेलकुद