शुक्रबार, श्रावण २९ गते २०८३
images
images

माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा

एक्सप्रेस पाना
आश्विन ८, २०८० सोमबार
  • 544
    SHARES
  • माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा

    काठमाडौँ । नेपाल घरेलु मैदानमा जारी पाँचौँ साफ यू-१९ प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।

    images

    सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको समूह 'ए' को दोस्रो खेलमा ४-१ गोलअन्तरले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो।

    खेलको पहिलो हाफमै नेपालले प्रशान्त लक्षम र समिर तामाङको गोलमा २-० गोलको अग्रता बनाएको थियो। 

    images

    दोस्रो हाफमा पनि नेपालले अधिकांश समय गोलका अवसरहरू सिर्जना गर्‍यो। तर, फिनिसिङमा पटकपटक चुकेको नेपालले दोस्रो हाफको अन्त्यतिर दुई गोल थप्न सक्यो। नेपालका लागि निराजन धामी र समिर तामाङले गोल गरे।

    माल्दिभ्सका आदम रशिदले पनि दोस्रो हाफमा नेपाली डिफेन्डरले गरेको गल्तीको फाइदा उठाउँदै गोल गर्‍यो। तर, त्यसपछि गोल हुन नसक्दा नेपाल खेलमा ४-१ गोलअन्तरले विजयी भयो।

    साफ यू-१९ प्रतियोगितामा माल्दिभ्सले नेपाललाई अहिलेसम्म पराजित गर्न सकेको छैन। सन् २०१५ मा नेपालमा आयोजना भएको पहिलो संस्करणको साफको उपाधि नेपालले जित्दा माल्दिभ्स समूह चरणबाटै बाहिरिएको थियो। 

    सन् २०१७ मा भुटानमा भएको दोस्रो संस्करणको साफमा नेपालले माल्दिभ्सलाई २-० गोलअन्तरले पराजित गरेको थियो। उक्त खेलमा रोमन लिम्बु र रेजिन सुब्बाले नेपालका लागि गोल गरेका थिए। सन् २०१९ मा नेपालमै भएको तेस्रो संस्करणमा भने माल्दिभ्सले १-१ गोलको बराबरीमा रोकेको थियो। हलचोकमा भएको खेलमा हार उन्मुख नेपालका लागि मनिष डाँगीले गोल गर्दै बचाएका थिए। माल्दिभ्सका लागि भने नइम हसनले गोल गरेका थिए।

    भारतमा भएको पाँचौँ संस्करणको साफमा भने नेपालले माल्दिभ्सलाई ४-० गोलअन्तरले पराजित गर्न सफल भयो। एकपक्षीय खेलमा नेपालका लागि दीपेश गुरुङ, सुगम सुवाल, क्रितीशरत्न छुन्जु र मनग्य नकर्मीले गोल गरेका थिए।

    तेस्रो भेट हुँदा खेलको छटौँ मिनेटमै नेपालले गोलको अवसर बनाएको थियो। तर, निराजनले दिएको पासमा प्रशान्त लक्षमले गरेको प्रहारलाई माल्दिभ्सका गोलरक्षक मोहम्मद यामिनले पञ्च गर्दिएर बाहिर पठाए। लगत्तै प्रशान्तले प्रहार गरेको बल यामिनको हातमा सिधैँ पुग्यो। त्यसपछि पनि नेपालले लगातार माल्दिभ्सका रक्षकलाई व्यस्त बनाइरहे। प्रशान्तले पुन: प्रहार गरेको बल माथिल्लो पोष्टबाट बाहिरियो। 

    ११औँ मिनेटमा मिडफिल्डबाट आएको बललाई पछ्याउँदै निराजन बक्सभित्र पुगेका थिए। तर, गोलरक्षक यामिनले किक  प्रहार गरेर बाहिर पठाइदिए। पुन: निराजनले प्रहार गरेको बललाई फस्ट बारनजिकबाट मुस्किलले पञ्च गरेर बाहिर पठाइदिए। 

    १८औँ मिनेटमा नेपालले अग्रता लियो। करिब ३० यार्डबाट माथिल्लो बारतर्फ गरेको प्रहारलाई माल्दिभ्समा गोलरक्षक यामिनले रोक्न सकेनन्। एअर बललाई उनले बचाउन प्रहार गरेपनि सहि जर्जमेन्ट गर्न नसक्दा बलले जालि चुम्यो।

    ३०औँ मिनेटमा नेपालले अग्रता दोब्बर बनायो। नेपालका लागि समिर तामाङले गोल गरे। उनले प्रशान्तको पासलाई सदुपयोग गर्दै बललाई जालीमा चुमाए। ३३औँ मिनेटमा अनावश्यक विवाद र धकेलाधकेल गर्दा नेपाल र माल्दिभ्स १०/१० खेलाडीमा समेटियो। नेपालका सुजल डंगोल र माल्दिभ्सका कप्तान मोहम्मद हसनले सिधैँ रातो कार्ड पाए। 

    दोस्रो हाफको शुरूआतदेखि नै नेपालले आक्रमक शैलीलाई निरन्तरता दिइनै रह्यो। ४६औँ मिनेटमा समिरले प्रहार गरेको बललाई स्लाइड गर्दै यामिनले बचाइदिए। उनले प्रशान्तले दिएको लामो पासलाई अगाडी बनाउँदै डिबक्सभित्रबाट प्रहार गरेका थिए। लगत्तै प्रशान्तले करिब २८ यार्डबाट प्रहार गरेको फ्रिकिकलाई माल्दिभ्समा गोलरक्षक र डिफेन्डरले बाहिर पठाइदिए। 

    ५८औँ मिनेटमा आदम रशिदले माल्दिभ्सका लागि गोल गर्दै खेलमा फर्किने संकेत देखाए। जहान नजिर र कप्तान सनान रशिदले बनाएको तालमेलमा आएको बललाई गोलरक्षक जियारथ शेखको नजिकैबाट आदम रशिदले 'वान टच' फिनिसिङ गरे। 

    ७६औँ मिनेटमा निराजनले करिब ५ यार्डबक्सबाट गरेको हेडिङ गरेपनि पोष्टको दिशा दिन सकेनन्। दीपक थापामगरले दिएको लामो पासमा उनले माल्दिभ्सका गोलरक्षक अगाडी बढिसकेको अवस्थामा हेडिङ गरेका थिए। 

    ८०औँ मिनेटमा नेपाली डिफेन्डरलाई बिट गर्दै मोहम्मद फाजिनले डिबक्सबाट गरेको प्रहार आकासियो। कप्तान राशिदले दिएको बललाई उनले सदुपयोग गर्न सकेनन्। लगत्तै मिडफिल्डबाट आएको बलमा रन बनाउँदै समिरले डिबक्सभित्र पुर्‍याएका थिए। तर, उनलको प्रहार फितलो रह्यो।

    खेलको ८८औँ मिनेटमा नेपालले तेस्रो गोल गर्‍यो। अश्विन घोरासैनीले दिएको पासलाई पोष्टनजिक रहेका निराजनले गोलमा परिणत गरे। दोस्रो हाफको इन्ज्युरी समयमा समिरले व्यक्तिगत दोस्रो गोल गरे। उनले दीपकले दिएको पासलाई सदुपयोग गरे। खेल सकिएपछि रेफ्री सेवाङ पेमालाई कुट्न तम्सिएपछि माल्दिभ्सका फजल मोहम्मदले रातो कार्ड पाए।

    नेपाल पहिलो खेलमा पाकिस्तानसँग १-० गोलअन्तरले पराजित भएको थियो। माल्दिभ्स भने पाकिस्तानसँग १-१ गोलको बराबरीमा रोकिएको थियो। अब नेपालले फाइनल प्रवेशका लागि समूह 'बी' को भुटान या भारतसँग खेल्ने छ।

  • सम्बन्धित विषय:

  • # फुटबल