काठमाडौँ । चीनमा जारी १९औं एशियन गेम्सको क्रिकेटमा नेपालले शानदार शुरुवात गरेको छ।
पहिलो खेलमा नेपालले मंगोलियालाई कीर्तिमानी २७३ रनले पराजित गर्दै शानदार शुरुवात गरेको हो।
यो टी-२० क्रिकेटमा अहिलेसम्मको सबैभन्दा ठुलो अन्तरको जित हो। नेपालले दिएको ३१५ रनको लक्ष्य पछाएको मंगोलियाले १३.१ ओभरमा अल आउट हुँदै ४१ रन बनाएको थियो।
मंगोलियाका एक ब्याट्सम्यानले १० रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपालका लागि करण केसी, अविनाश बोहोरा र सन्दीप लामिछानेले २/२ विकेट लिए भने सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले १/१ विकेट लिए।
यसअघि नेपालले टस हारेर पहिला ब्याटिङ गर्दै २० ओभरमा ३ विकेट गुमाउदै ३१४ रन बनाएको थियो। नेपालका कुशल मल्ल ५० बलमा ८ चौका र १२ छक्कासहित १३७ रन अविजित बनाए भने दीपेन्द्रसिंह ऐरी १० बलमा ८ छक्कासहित ५२ रन अविजित बनाएका थिए।
यो टी-२० इतिहासकै अहिलेसम्मको उच्च योगफल हो। यसअघि अफगानिस्तानले आयरल्याण्डविरुद्ध २०१९ मा सर्बाधिक २७८ रन बनाएको थियो।
यस खेलमा कुशलले ३४ बलमै शतक प्रहार गरेका थिए। योसँगै कुशल टी-२० को इतिहासमा सर्वाधिक छिटो शतक प्रहार गर्ने ब्याट्सम्यान बनेका छन्। यसअघि टी-२० मा सर्वाधिक छिटो शतक ३५ बलमा थियो। जसमा भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका डेविड मिलर र चेक रिपब्लिकनका सुदेश विक्रमशेखरले समान ३५ बलमा शतक हानेका थिए।
त्यसैगरी दीपेन्द्रसिंह ऐरीले ९ बलमा अर्धशतक पुरा गरेर विश्व किर्तिमान बनाएका छन्। १९औं ओभरमा ५ छक्का प्रहार गरेका दिपेन्द्रले भारतीय ब्याट्सम्यान युवराज सिंहको १२ बलमा अर्धशतक बनाएको विश्व कीर्तिमान तोडेका हुन्।
त्यसैगरी नेपाली कप्तान रोहित पौडेलले २७ बलमा ६१ रन बनाए भने कुशल भुर्तेलले १९ र आसिफ सेखले १६ रन बनाएर आउट भएका थिए।
नेपालले अब एशियन गेम्समा आइतबार माल्दिभ्सविरुद्ध खेल्ने तालिका छ।



