काठमाडौं । राजधानीमा जारी साफ यू-१९ च्यापियनसिपको दोस्रो तथा अन्तिम सेमिफाइनल खेलमा नेपाललाई हराउँदै भारत फाइनमा प्रवेश गरेको छ।
बुधबार त्रिपुरेश्वस्थित दशरथ रंगशालामा भएको खेलमा भारतले नेपाललाई पेनाल्टीमा ३-२ गोल अन्तरले पराजित गरेको हो।
निधारित समय १-१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीबाट गरिएको थियो।
पेनाल्टीमा नेपालका अश्विन घोराशैनी र कुशल देउवाले मात्रै गोल गर्न सकेन। प्रशान्त लक्षमको प्रहार भारतीय रक्षकले रोके। लक्षु थापाको प्रहार भने माथिल्लो बारमा लागेर फर्कियो। बिक्रम तामाङको प्रहार भने आकाशियो।
भारतका अर्जुन सिंह, गोम्वाङ्सार गोयरे र म्याग्लेनथाङ्ग किप्गेनले गोल गरे। दिनेश सिंह र रिक्की मेतेइको प्रहार भने कप्तान तथा गोलरक्षक जियारथ शेखले रोके।
त्यसअघि पहिलो हाफमा एक शून्य गोलले पछि परेको घरेलु टोली नेपालले खलमा फर्किन ७४औं मिनेट कुर्नु परेको थियो।
१२६५६ जना दर्शको माझ नेपालले भारतविरूद्ध खेलको ७४औं मिनेटमा बराबरी गोल फर्काउन सफल भयो। नेपालका लागि समिर तमाङले दिपक थापा मगरको पासमा सुन्दर हेडिङ गोल गरे।
दिपक दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए।
भारतले उपाधिका लागि आगामी शनिबार पाकिस्तानको सामना गर्नेछ।



