काठमाडौँ । नेपालमा जारी दक्षिण एसियाली यू-१९ साफ च्याम्पियनसिपको फाइनल खेल हुँदैछ। आज हुने फाइनलमा भारत र पाकिस्तान भिड्दै छन्।
खेल दशरथ रंगशालामा नेपाली समयअनुसार साँझ साढे ५ बजेदेखि शुरु हुनेछ।
पाकिस्तान समुह चरणमा पहिलो हुँदै सेमिफाइनलमा पुगेको थियो भने सेमिफाइनलमा भुटानलाई पेनाल्टी सुटआउटमा ६-५ ले पराजित गर्दै फाइनलमा पुगेको हो। पाकिस्तान यू-१९ साफ च्याम्पियन्सिपमा पहिलो पटक भाग लिएर फाइनलमा पुगेको हो। यसअघि सम्पन्न चार यू-१९ साफ च्याम्पियन्सिपमा पाकिस्तानले भाग लिएको थिएन।
त्यसैगरी भारत समुह बी मा समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो। सेमिफाइनलमा भारतले पेनाल्टी सुट आउटमा नेपाललाई ३-२ ले पराजित गर्दै फाइनलमा पुगेको हो। भारतले यस अघि २०१९ र २०२२ मा लगातार यू-१९ साफ च्याम्पियन्सिपको उपाधि जितेको थियो। त्यसअघिका दुई संस्करणको उपाधि भने नेपालले जितेको थियो।



