मानेभञ्ज्याङ । सातौ मानेभञ्ज्याङ गोल्डकपमा बिएससी जलपाइगुडीले बिजयी सुरुवात गरेको छ।
प्रतियोगिताको उद्धघाटन खेलमा पानवारी एफसी धरानलाई ३–१ गोल अन्तरले हराउँदै जलपाइगुडीले अन्तिम ८ मा स्थान बनाएको हो। जलपाइगुडीको जितमा स्टेफेन समिरले २ गोल र करण राईले १ गोल गरे। धरानका पदम भट्टराईले सान्तवना गोल फर्काए।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोश्रो हाफमा ४ गोल निस्किएको हो। दुवै टिममा सहिद स्मारक ए डिभिजन लिग खेलेका खेलाडीहरुको बाहुल्यता रहेको थियो।
प्रतियोगिताको दोश्रो प्रि–क्वाटरफाइनल खेलमा रेडहर्र्स इलाम र चाँद एफसी तीनधारे बिच प्रतिस्पर्धा हुनेछ। आगामी असोज २८ गतेसम्म चल्ने प्रतियोगिताको बिजेताले ८ लाख (भारु ५ लाख) र उपविजेताले ४ लाख (भारु २ लाख ५० हजार ) प्राप्त गर्नेछ।
प्रतियोगितामा नेपालका ५ क्लब र भारतका ११ क्लब सहभागी छन्। मानेभञ्ज्याङ फुटबल क्लबले विगतका बर्षहरु देखि अन्तरदेशीय सम्बन्ध विस्तारका लागि नेपाल–भारत सिमानामा पर्ने मानेभञ्ज्याङ बजारमा फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ।



