मानेभञ्ज्याङ । पुनरागमन जित निकाल्दै दलसिंङपाडा स्पोर्टस एकाडेमी डुवर्स सातौ मानेभञ्ज्याङ गोल्डकपको क्वाटरफाइनल प्रवेश गरेको छ।
बुधबार सिङलिङ स्सपोटिङ्ग क्लब सिक्किम विरुद्ध ४-३ गोल अन्तरको जित निकाल्दै दलसिंङपाडा अन्तिम ८ मा प्रवेश गरेको हो। पहिलो हाफमा ३-१ गोल अन्तरले पछि रहेको दलसिंङपाडाले दोश्रो हाफमा ३ गोल गरेको थियो।
खेलमा अग्रता दलसिंङपाडाले लिएको थियो। ८औं मिनेटमा पोग्बाले पहिलो गोल गरेका थिए। खेलमा पछि परेको अवस्था उल्टयाउँदै १९औं मिनेटमा रोहितले खेल बराबरी गरे। ३३औं मिनेटमा पेमाले गोल गर्दै सिङलिङलाई अग्रता दिलाए। ३५औं मिनेटमा किरणले अग्रता ३-१ बनाए। पहिलो हाफमा बनाएको अग्रता सिङलिङले जोगाउन सकेन्।
खेलको ५७औं मिनेटमा हेमराजले गोल गर्दै अन्तर कम पारे। ६३औं मिनेटमा रोशनले खेल बराबरीमा ल्याए। खेल सकिन २ मिनेट बाँकी रहँदा पोग्बाले व्यक्तिगत दोश्रो गोल गर्दै आफ्नो टिमलाई अन्तिम ८ मा प्रवेश गराए। जितसंगै दलसिङले सेमीफाइनल प्रवेशका लागि बिएसके जलपाइगुडीसंग खेल्नेछ। बिएसकेले पानबारी एफसी धरानलाई हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको हो।
खेलको म्यान अफ दि म्याच पोग्बा घोषित भए। प्रतियोगिताको चौथो प्रि-क्वाटरफाइनल खेलमा विहिबार जर्जियन एफसी कालेम्पोङ र डिएसए हाउडा कोलकत्ता बिच हुनेछ। मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङको आयोजनामा जारी प्रतियोगितामा नेपालका ५ सहित १६ क्लबको सहभागिता रहेको छ। प्रतियोगिताको बिजेताले ८ लाख रुपैया (भारतीय ५ लाख) र उपविजेताले ४ लाख (भारतीय २ लाख ५० हजार ) प्राप्त गर्नेछ। प्रतियोगिताको फाइनल आगामी अक्टोबर १५ तारिक हुनेछ।



