मानेभञ्ज्याङ । सातौं संस्करणको मानेभञ्ज्याङ गोल्डकप प्रतियोगितामा चाँद एफसी तीनधारिया र बिएसके जलपाइगुडी सेमीफाइनल प्रवेश गरेका छन्।
सोमबार भएको प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा चाँदले जर्जियन एफसी कालेम्पोङ र दोश्रो क्वाटरफाइनलमा जलपाइगुडीले दलसिङपाडा स्पोर्टस एकाडेमीलाई हराएको हो।
पहिलो खेलमा चाँदले ४–२ गोल अन्तरले अन्तिम ४ मा स्थान बनाएको छ। प्रतियोगितामा सुरुवाती अग्रता जर्जियनले बनाएको थियो। कुन्जमान थापाले तेश्रो मिनेटमा नै गोल गरेका थिए। २३औैं मिनेटमा सिद्धान्त क्षेत्रीले खेल बराबरीमा ल्याए । खेलको ४८औं मिनेटमा कुन्जमानले व्यक्तिगत दोश्रो गोल गर्दै जर्जियनलाई अग्रता दिलाए।
विरेन प्रधानले ५५ र भाइचुङ राईले ६५औं मिनेटमा गोल गरेपछि ४–२ गोल अन्तरको जितका साथ चाँदले सेमीफाइनलमा स्थान बनाउन सफल रहयो। त्यसैगरी दोश्रो क्वाटरफाइनल खेलमा दलसिङपाडा स्पोर्टस एकाडेमीलाई सडनडेथमा हराउँदै बिएसकले अन्तिम ४ मा स्थान बनाएको हो।
निर्धारित समयमा दुवै टिमबाट २–२ गोल भएपछि निर्णयक लागि टाइब्रेकर रोजिएको थियो। टाइब्रेकरमा समेत बराबरी भएपछि सडनडेथमा धकेलिएको खेलमा जलपाइगुडीले जित निकालेको हो। मेसुके ओलमाउले १५औं मिनेटमा गोल गर्दै जलपाइगुडीलाई सुरुवाती अग्रता दिलाएका थिए। ३०औं मिनेटमा मेसुकेले व्यक्तिगत दोश्रो गोल गरे। कप्तान हेमराज भुजेलले ३६ र सुजल मुण्डा (पोग्वा)ले ५४औं मिनेटमा गोल गरेपछि दलसिंङपाडा खेलमा फर्किएको थियो। सडनडेथमा दलसिंङपाडा भाग्यमानी सावित हुन सकेन्।
प्रतियोगिताको तेश्रो क्वाटरफाइनल खेलमा सिरिजंघा स्पोर्टिङ क्लब भद्रपुरले कञ्चनजंघा एफसी सिलिगुडीको सामना गर्नेछ। सिरिजंघाले मोहम्मडन एथ्लेटिक कोलकत्ता र कञ्चनजंघाले हिमालयन शेर्पा काठमाण्डौलाई हराउँदै अन्तिम ८ मा स्थान बनाँएका थिए।
प्रतियोगितामा नेपालका ५ र भारतका ११ क्लबको सहभागिता छ। प्रतियोगिताको बिजेताले ८ लाख रुपैया (५ लाख भारु) तथा उपविजेताले ४ लाख (२ लाख ५० हजार भारु) पाउने छन् । फाइनल खेल अक्टोबर १५ तारिक हुनेछ।



