काठमाडौं । विश्वकप छनोटअन्तर्गत पहिलो लेगमा घरेलु टोली नेपाल र लाओसविरुद्धको खेल जारी रहेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा पाहुना टोली लाओसले अग्रता लिएको छ।
खेलको ३२औँ मिनेटमा लाओसले अग्रता लियो। आवास लामिछानेले ब्याक पास दिँदा लाओसका चोन्य वेनपसेर्थको खुट्टामा बल पुगेको थियो। उक्त बललाई उनले डिबक्सनजिक रहेका कप्तान बाउनफचान बाउन्कोङ्सलाई पास दिएका थिए। नेपाली डिफेन्डर रोहित चन्द र अनन्त तामाङले रोक्न नसकेपछि उनले फस्ट बारमा ठोकाउँदो बललाई जाली चुमाए।
३९औँ मिनेटमा आवासले दिएको बल जेलेस्पीजंग कार्कीको खुट्टामा नपुग्दै पहिलो बारनजिकबाट लाओसका डिफेन्डरले क्लिअर गर्दिए।
त्यस्तै लाओससँगको दोस्रो लिग असोज ३० गते हुने छ। लाओस फिफा वरियतामा नेपालभन्दा पछाडी रहेको छ। लाओस अहिले फिफाको वरियतामा १८६औ स्थानमा छ भने नेपाल १७५औ स्थानमा रहेको छ।
यो खेलको विजेताले एशिया क्षेत्रको छनौटको दोस्रो चरणमा समुह एचमा स्थान बनाउने छ। जसमा युएइ र बहराइन रहेका छन् भने चौथो देश यमन र श्रीलंकाबीचको विजेता हुने छ।



