शुक्रबार, श्रावण २९ गते २०८३
images
images

विश्वकप छनोट: अन्जनको कीर्तिमान बराबरी गोलमा नेपाल लाओससँग हारबाट जोगियो

एक्सप्रेस पाना
आश्विन २५, २०८० बिहीबार
  • 278
    SHARES
  • विश्वकप छनोट: अन्जनको कीर्तिमान बराबरी गोलमा नेपाल लाओससँग हारबाट जोगियो

    अन्जन विष्टको गोलसँगै नेपाल विश्वकप छनोटअन्तर्गत पहिलो लेगमा लाओसविरुद्ध बराबरीमा रोकिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार सम्पन्न खेलमा घरेलु टोली नेपालविरुद्ध पहिलो हाफमै पाहुना टोली लाओसले अग्रता लिएको थियो। तर, दोस्रो हाफ शुरू भएको चौथो मिनेटमै अन्जनले गोल गर्दै नेपालको हार टार्दिए।

    images

    खेलको ३२औँ मिनेटमा आवास लामिछानेले ब्याक पास दिँदा लाओसका चोन्य वेनपसेर्थको खुट्टामा बल पुगेको थियो। उक्त बललाई उनले डिबक्सनजिक रहेका कप्तान बाउनफचान बाउन्कोङ्सलाई पास दिए। नेपाली डिफेन्डर रोहित चन्द र अनन्त तामाङले रोक्न नसकेपछि उनले फस्ट बारमा ठोकाउँदो बललाई जाली चुमाए।

    ३९औँ मिनेटमा आवासले दिएको बल जेलेस्पीजंग कार्कीको खुट्टामा नपुग्दै पहिलो बारनजिकबाट लाओसका डिफेन्डरले क्लिअर गर्दिँदा नेपाल खेलमा फर्किन चुकेको थियो।

    images

    दोस्रो हाफको शुरूआतमै नेपालले तीन खेलाडी परिवर्तन गर्‍यो। फरवार्ड आयुष घलानको स्थानमा दिनेश हेमजन मैदान प्रवेश गरे। यस्तै, आशिष चौधरीको स्थानमा एरिक विष्ट र आवास लाकमिछानेको स्थानमा मिडफिल्डर उत्सव राई मैदान प्रवेश गरे। उत्सवले यही खेलमार्फत् राष्ट्रिय टोलीमा डेब्यू गरेका छन्।

    ४९औँ मिनेटमा नेपाल खेलमा फर्कियो। एरिकले प्रहार गरेको कर्नर बललाई अन्जनले हेडिङमार्फत् जाली चुमाइदिए। योसँगै अन्जनले हरि खड्का र निराजन रायमाझीको सर्वाधिक १३ गोलको कीर्तिमान बराबर गरेका छन्। ३१ अक्टोबर २०१४ मा फिलिपिन्सविरुद्धको खेलमा अन्जनले राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए। उनले खेलको ६१औँ मिनेटमा डिफेन्डर सन्दीप राईलाई परिवर्तन गरेका थिए। 

    उनले पहिलो गोल भने १० सेप्टेम्बर २०१९ मा कतार विश्वकप २०२२ छनोट खेलमा चाइनिज ताइपेविरुद्ध गरेका थिए। पहिलो लेगमा १ गोल गरेका उनले दोस्रो लेगमा २ गोल गरेका थिए। 

    त्यसयता उनले इरान, भारत, श्रीलंका, बंगलादेश, पाकिस्तान र कुवेतविरुद्ध गोल गर्दै गोलसंख्या १२ पुर्‍याएका थिए। खेलको ८३औँ मिनेटमा फरवार्ड मनिष डाँगीको स्थानमा हिसुव थपलिया मैदान प्रवेश गरे। दोस्रो हाफको इन्ज्युरी समयमा लाओसका मुख्य प्रशिक्षक कानलेया सिसोमभाङले श्रीलंकाली रेफ्री निभोन गामिनीसँग मैदान भित्र प्रवेश गर्दै बहसमा उत्रिएपछि सिधै रातो कार्ड पाए। त्यसपछि दुवै टोलीले राम्रो मुभ बनाउन सकेनन् र खेल बराबरीमा रोकियो

    नेपालले लाओससँग चौथोपटक खेलेको हो। यसअघि सन् २०१६ मा मलेसियामा भएको एएफसी सोलिडारिटी कपअन्तर्गत सेमिफाइनमा नेपाल र लाओसको पहिलो भेट भएको थियो। उक्त खेलको निर्धारित समयमा दुवै टोलीले २-२ गोलको बराबरी खेलेका थिए। तर, पेनाल्टी सुटआउटमा नेपालले ३-० गोलअन्तरको जित हासिल गरेका नेपालले फाइनलमा मकाउलाई पराजित गर्दै उपाधि जितेको थियो। 

    लाओसभने ब्रुनाइलाई ३-२ गोलअन्तरले पराजित गर्दै तेस्रो भएको थियो। लाओसलाई नेपालले दोस्रो भेटको लागि आफ्नै घरेलु मैदानमा आतिथ्य गरेको थियो। नेपालले नै गत मार्चमा आयोजना गरेको थ्री नेसन्स् कपको समूह चरणको खेलमा घरेलु टोलीसँग लाओस २-० गोलअन्तर्गतले पराजित भयो। सोही प्रतियोगिताको फाइनलमा लाओसलाई २-१ गोलअन्तरले पराजित गर्दै नेपालले उपाधि रक्षा गरेको थियो। नेपालले विश्वकप छनोटअन्तर्गत दोस्रो लेगमा लाओसको मैदानमा असोज ३० गते खेल्ने छ।

  • सम्बन्धित विषय:

  • # फुटबल