शुक्रबार, श्रावण २९ गते २०८३
images
images

मालिकादेवी कप : पहिलो दिन ४ खेल सम्पन्न

एक्सप्रेस पाना
आश्विन २७, २०८० शनिबार
  • 578
    SHARES
  • मालिकादेवी कप : पहिलो दिन ४ खेल सम्पन्न

    चौतारा । तेस्रो संस्करणको मालिकादेवी नकआउट सेभेन 'ए' साइड नगर कप फुटबल प्रतियोगिता शनिबारबाट सुरु भएको छ।

    images

    पहिलो दिन ४ खेल सम्पन्न भएको हो। उद्घाटन खेलमा आयोजक मेलचौर युवा जागरण समाज 'बी' ले सहिद स्मृति युवा क्लबलाई ३-१ गोल अन्तरले पराजित गरेको थियो। पहिलो हाफमा १-० गोलले पछि परेको अबस्थालाई उल्ट्याउँदै दोस्रो हाफमा ३ गोल गरेको थियो। 

    मेलचौरको जितमा बिपिन गिरी २ र उमेश तामाङ १ गोल गरे, भने सहिद स्मृतिका आर्यन काजी थापाले गरेको एक गोल सान्त्वना बन्यो। मेलचौर युवा जागरण समाजका बिपिन गिरी म्यान अफ द म्याच घोषित भए।

    images

    यस्तै दोस्रो खेलमा धार्पा युवा क्लब र इन्द्रध्वज गणबीच हुने तालिका थियो तर, निर्धारित समयमा धार्पा उपस्थित नभएपछि इन्द्रध्वज गण विजयी हुँदै अघिल्लो चरणमा प्रवेश गरेको छ।

    तेस्रो खेलमा धोबीखोला युवा क्लबलाई ८-३ को फराकिलो गोल अन्तरले हराउँदै फाइभ स्टार युथ क्लब अघिल्लो चरणमा प्रवेश गरेको थियो। यो गोल स्कोर मालिकादेवी कपमा अहिलेसम्मकै सर्वाधिक फराकिलो जितको स्कोर समेत हो। 

    फाइभ स्टारको जितमा रेशम माजीले ५, रोमन परियार, विशाल राना, स्वम दनुवारले समान १/१ गोल गरे भने धोबिखोलाको लागि इशान कार्की, नवीन कार्की र जुन कुमारले समान १/१ गोल गरेता पनि टोलीको हार टार्न सकेनन्। यस खेलमा रेशम म्यान अफ दि म्याच घोषित भए।

    यस्तै अन्तिम खेलमा थुम्की डाँडा युथ क्लबले भिमेश्वरी  समाजसेवी युवा क्लबलाई १-० गोलले हराउँदै अघिल्लो चरणमा प्रवेश गरेको छ। थुम्की डाँडाको जितमा पहिलो हाफमा आकाश सापकोटाले फ्रिकिकमा गरेको गोल नै निर्णायक बन्यो। उनि नै खेलको म्यान अफ दि म्याच घोषित हुँदै ट्रफीसहित नगद १ हजार प्राप्त गरे। यस्तै यसअघि दुई खेलमा पनि हरेक खेलका म्यान अफ दि म्याचले ट्रफीसहित नगद २ हजार प्राप्त गरेका थियो। 

    यस्तै आइतबार बिहान ७ः३० बजे वडा नम्बर ८ र जल्किने युथ क्लब, बिहान ९ बजे वडा नम्बर ५ र जिल्ला प्रहरी कार्यालय, दिउँसो १ बजे सुकुटे युवा जागरण र वडा नम्बर ४, दिउँसो २ः३० बजे चौतारा ५ युवा क्लव र सिंहमति युवा क्लब, दिउँसो ४ बजे सहिद स्मृति युवा क्लब 'ए' र रोयल फ्यामेलीबीच प्रतिष्पर्धा हुनेछ।

    मेलचौर युवा जागरण समाजको आयोजनामा आजबाट सुरु भएको यस प्रतियोगिता कार्तिक ३ गतेसम्म चल्नेछ। 

    आयोजकका अनुसार प्रतियोगिताको विजेताले १ लाख ११ हजार १११ ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता टोलीले ६६ हजार ६६६ ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्।

    प्रतियोगितामा उत्कृष्ट खेलाडी, स्ट्राइकर, गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक र प्रत्येक खेलको म्यान अफ दी म्याचलाई ट्रफीसहित नगद पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ। साथै टिम फ्यर प्लेयलाई अवार्ड पनि रहेको छ।

    पहिलो संस्करणको विजेता सुनौलो विहानी अभियानले जितेको थियो। त्यस संस्करणको पुरस्कार राशी ५० हजार रहेको थियो भने दोस्रो संस्करणको उपाधि ८० हजार अधेरी युथ क्लब बलेफीले जितेको थियो। 

    यस्तै, तेस्रो संस्करणमा अघिल्लो संस्करणको तुलनामा पुरस्कार राशीमा ३१ हजार बढाएको आयोजकले जनाएको छ।

    प्रतियोगिताका सबै खेलहरू चौतारा साँगाचोकगढी नगरपालिका-७ मेलचौर दरबारडाँडा खेल मैदानमा हुनेछ। हरेक खेलको प्रत्यक्ष प्रसारण क्लिक स्पोर्ट्स नेपालको आधिकारिक फेसबुक पेज र युट्युब च्यानलमार्फत् हुनेछ।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # मालिकादेवी कप