काठमाडौँ, १३ कात्तिक । आइसिसी टी-२० विश्वकप एसिया छनोट अन्तर्गत समूह बी को पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (युएई)ले बहराइनलाई पराजित गरेको छ।
मूलपानी क्रिकेट मैदानमा सोमबार भएको खेलमा युएईले बहराइनलाई पाँच विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको हो।
बराइनले दिएको १३६ रनको लक्ष्य युएईले १८ दशमलव २ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो।
युएईका लागि अलि नासिरले सर्वाधिक ४८ रन बनाए। उनले २६ बलमा चार चौका र तीन छक्काको मद्दतमा अविजित ४८ रन बनाएका हुन्। त्यस्तै आशिफ खानले २३ रनको योगदान दिए भने कप्तान मोहम्मद वसिमले ११ रन बनाए। बसिल अहम्मदले ११ जोडे।
बहराइनका लागि रिजवान बुट्टले २ विकेट लिए भने साथिया विरापाथिरन, अब्दुल मजिद र सचिन कुमारले समान ११ विकेट हात पारे।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बहराइनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३५ रनको योगफल बनाएको थियो।
बहराइनका लागि हैदर बुट्टले सर्वाधिक ५९ रन बनाए। उनले ४३ बलमा पाँच चौका र दुई छक्काको मद्दतले सर्वाधिक ५९ रन बनाएका हुन्। त्यस्तै जुनेद अजिजले २५ रन जोडे भने सोहिल अहम्मदले २८ रन बनाए।
युएईका लागि जुनेद सिद्धिगी र आयान अफजल खानले समान २ विकेट लिए भने अलि नासिर र कार्तिक मैइएप्पनले समान १ विकेट हात पारे।
यस जितसँगै युएईले प्रतियोगितामा दुई अङ्क जोडेको छ।



