शुक्रबार, श्रावण २९ गते २०८३
images
images

मलेसियाले नेपाललाई दियो १६६ रनको लक्ष्य

एक्सप्रेस पाना
कार्तिक १४, २०८० मंगलबार
  • 355
    SHARES
  • मलेसियाले नेपाललाई दियो १६६ रनको लक्ष्य

    काठमाडौं, कार्तिक १४ । टी२० विकश्वकप छनोट अन्तर्गत दोस्रो खेलमा मलेसियाले नेपाललाई १६६ रनको लक्ष्य दिएको छ।

    images

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६५ रन बनाएको हो। 

    मलेसियाका लागि सैयदले सर्वाधिक ४९ बलमा ८ चौका र २ छक्कासहित ६८ रन प्रहार गरे। २ जुन २०१९ मा थाइल्यान्डविरुद्धको टी२०आई खेलमा डेब्यू गरेका उनको यो १३औँ अर्धशतक हो। उनले ६५ इनिङ्समा १३औँ अर्धशतक प्रहार गरेका हुन्। उनले गत असोजमा चीनमा सम्पन्न भएको एशियाली खेलकुदमा थाइल्यान्डविरुद्ध ५६ बलमा १३ चौका र ९ छक्कासहित १२६ रनको शतकीय इनिङ्स खेलेका थिए।

    images

    सैयदबाहेक मलेसियाका अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन्। सैयद र जुबैदी जुल्किफ्लेले मलेसियाका लागि राम्रो शुरूआत गरेका थिए। शुरूआती ३ ओभरमै मलेसियाले ३६ रन बनाइसकेको थियो। यद्यपि, चौँथो ओभरको तेस्रो बलमा जुबैदीले जीवनदान पाए। उनले प्रहार गरेको बललाई अफ साइडमा रहेका कप्तान रोहितकुमार पौडेलले क्याच मिस गरे।

    यद्यपि, छैठौँ ओभरको पाँचौँ बलमा उनी कुशल मल्लबाट अफ साइडमा क्याच आउट भए। अविनास बोहराको बलमा उनी आउट भएका हन्। जुबैदीले १६ बलमा ३ चौकासहित २४ रन बनाए। उनी र सैयदले पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरेका थिए। त्यसपछि कृजमा आएका अन्य ब्याटरको प्रदर्शन भने फितलो रह्यो। 

    तेस्रो नम्बरमा उत्रिएका कप्तान अहमद फैज सातौँ ओभरको अन्तिम बलमा रन आउट भए। आउट साइड लेगमा गएको बलमा दुई रन लिने प्रयास गर्दा उनलाई करण केसीले आउट बनाए। उनले ४ बलमा ३  रन प्रहार गरे।

    ११औँ ओभरको पहिलो बलमा बीरन्दीप सिंह सन्दीप लामिछानेको बलमा एलबीडब्यू आउट भए। उनले ८ बलमा ४ रन बनाए।

    १४औँ ओभरको अन्तिम बलमा सर्विन मुनिएन्डी रोहितको बलमा क्याच आउट भए। १२ बलमा २ चौकासहित १३ रन प्रहार गरेका उनले चौँथो विकेटका लागि सैयदसँग ३४ रनको साझेदारी गरे।

    सैयद पनि १५औँ ओभरको चौँथो बलमा कुशल भुर्तेलबाट स्क्वायरमा क्याच आउट भए। उनी गुलशनकुमार झाको बलमा आउट भएका हुन्। त्यसपछि मलेसियाको विकेट पतन कायमै रह्यो। 

    मलेसियाका ऐनूल हाफिज १६औँ ओभरको चौँथो बलमा गुलशनबाट रन आउट भए। प्वइन्टमा गएको बलमा तेस्रो रन लिने क्रममा उनी रन आउट हुन पुगेका हुन्। उनले ४ बलमा ३ रन जोडे।
    यता, मोहम्मद अमिर ७ बलमा १ चौका प्रहार गर्दै ८ रनमा इन साइड एज लागेर अविनाशको बलमा बोल्ड भए। स्याजरुल इद्रुस अविनाशको बलमा कुशल भुर्तेलबाट ७ रनमै आउट भए। 

    २०औँ ओभरको अन्तिम बलमा फित्री शाम ६ रनमा आउट भए। विजयी उन्नी १३ बलमा १ चौका प्रहार गर्दै १३ रनमा अविजित रहे।

    अविनाश बोहराले ४ विकेट लिँदा सन्दीप लामिछाने, गुलशनकुमार झा र रोहितकुमार पौडेलको नाममा १/१ विकेट रह्यो।

    यसअघि नेपालले आफ्नो पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गरेको थियो। 

  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • # टी-२० विश्वकप छनोट