काठमाडौं, कार्तिक १४ । मलेसियाविरुद्ध कीर्तिमानी जित हासिल गर्दै नेपाल आईसीसी टी२०आई विश्वकप एशिया छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ।
मंगलबार सम्पन्न खेलमा घरेलु टोली नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपाल एक खेल बाँकी रहँदै सेमिफाइनलमा प्रवेश गरेको हो।
मलेसियाले दिएको १६६ रनको लक्ष्य नेपालले १८ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो।
नेपालले भेटाएको यो नै उच्च स्कोर हो। गत सोमबार मुलपानीमा सम्पन्न त्रिकोणात्मक टी२०आई सिरिजमा यूएईले दिएको १६५ रनको लक्ष्य पछ्याउँदै नेपालले ५ विकेटको जित हासिल गरेको थियो।
मंगलबार मलेसियाविरुद्ध ओपनरद्वय कुशल भुर्तेल र आशिफ सेखले छैठौँ ओभरसम्म ४९ रनको साझेदारी गर्दै नेपाललाई राम्रो शुरूआत दिलाएका थिए। तर, कुशल छैठौँ ओभरको तेस्रो बलमा सर्विन मुनिएन्डीबाट डाउन्ड द ग्राउन्ड क्याच आउट भए। कुशलले आउट हुनुपूर्व २५ बलमा ४ चौका र ४ छक्कासहित ४३ रन बनाए। ५.२ ओभरमा १-४९ को स्थितिमा रहेको नेपालको इनिङ्स त्यसपछि कुशल मल्ल र आशिफले उकासेका थिए। दोस्रो विकेटका लागि उनीहरूले ६९ रनको साझेदारी गरे। आशिफ मोहम्मद अमिरको बलमा क्याच आउट भए। उनले २३ बलमा १ चौका र २ छक्कासहित ३२ रन प्रहार गरे।
कप्तान रोहितकुमार पौडेल १४औँ ओभरको पाँचौँ बलमा २ रनमा आउट भए। १७औँ ओभरको पाँचौँ बलमा कुशल मल्ल पनि मोहम्मद अमिरको बलमा क्याच आउट भए। उनले ३४ बलमा २ चौका र ७ छक्कासहित ६५ रन बनाए।
सन्दीप जोरा १६ बलमा २ चौकासहित १८ रन बनाउँदै अविजित रहे। यता, विवेक यादव २ रनमा अविजित रहे।
कुशलको तेस्रो अर्धशतक
कुशल मल्लले आफ्नो टी२०आई करिअरमा तेस्रो अर्धशतक पूरा गरेका छन्। २७ सेप्टेम्बर २०१९ मा जिम्बावेविरुद्ध डेब्यू गरेका उनले २४ इनिङ्समा तेस्रो अर्धशतक पूरा गरेका हुन्। उनले २४ अप्रिल २०२१ मा कीर्तिपुरमा भएको त्रिकोणात्मक टी२०आई सिरिजमा नेदरल्यान्ड्सविरुद्ध २४ बलमा २ चौका र ५ छक्का प्रहार गर्दै पहिलो अर्धशतक बनाएका थिए। गत हप्ता सम्पन्न त्रिकोणात्मक टी२०आई सिरिजमा हङकङविरुद्ध ४१ बलमा ३ चौका र ९ छक्का प्रहार गर्दै ९२ रन बनाएका थिए।
मंगलबार मलेसियाविरुद्ध उनले २६ बलमा १ चौका ६ छक्कासहित ५२ रन प्रहार गर्दै अर्धशतक पूरा गरे।
सैयदको अर्धशतकमा मलेसियाको १६५ रन
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६५ रन बनायो।
अविनाश बोहराले ४ विकेट लिँदा सन्दीप लामिछाने, गुलशनकुमार झा र रोहितकुमार पौडेलको नाममा १र१ विकेट रह्यो।
समूह ए मा नेपालले २ खेलबाट ४ अंक जोडेको छ। ओमानको पनि समान खेलबाट ४ अंक भएको छ। नेपालले पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गरेको थियो। यता, ओमानले भने मलेसियालाई ३२ र सिंगापुरलाई २२ रनले पराजित गरेको थियो।
अंकविहीन रहेका मलेसिया र सिंगापुर एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएका छन्। नेपालले समूह चरणको अन्तिम खेल ओमानसँग खेल्ने छ।



