शुक्रबार, श्रावण २९ गते २०८३
images
images

ओमानसँग पराजित नेपालले सेमिफाइनलमा यूएईसँग खेल्ने

एक्सप्रेस पाना
कार्तिक १६, २०८० बिहीबार
  • 304
    SHARES
  • ओमानसँग पराजित नेपालले सेमिफाइनलमा यूएईसँग खेल्ने

    नेपालले आईसीसी टी–२०आई विश्वकप एशिया छनोटको सेमिफाइनलमा यूएईसँग खेल्ने भएको छ।

    images

    बिहीबार सम्पन्न समूह ए को अन्तिम खेलमा  ओमानसँग ५ रनले पराजित भएसँगै यूएईसँग भिड्ने पक्का भएको हो। नेपालले तीन खेलबाट ४ अंक बनायो। नेपालले पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गरेको थियो। यस्तै, दोस्रो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्दै एक खेलअगावै सेमिफाइनलमा पुगेको थियो।

    यता, ओमान समूह ए मा अविजित रह्यो। ओमानले पहिलो खेलमा मलेसियालाई ३२ र दोस्रो खेलमा सिंगापुरलाई २२ रनले पराजित गरेको थियो। समूह बी मा यूएई अविजित रह्यो। यूएईले कुवेत र बहराइनलाई समान ५ विकेट र हङकङलाई २२ रनले पराजित गर्‍यो। यता, ओमानको प्रतिस्पर्धी पनि बिहीबार नै टुंगो लाग्ने छ। समूह बी मा केहीबेर पछि बहराइन र कुवेत भिड्दै छन्। बहराइन र हङकङको समान २ अंक रहेको छ। कुवेत भने प्रतियोगिताबाट बाहिरिसकेको छ।

    images

    बिहीबार ओमानले दिएको १४६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १४० रन मात्रै बनाउन सक्यो। नेपालका लागि विवेककुमार यादवले सर्वाधिक ३९ रन बनाए। यसबाहेक कुशल भुर्तेलले २६ रन बनाउँदा करण केसी १५ रनमा अविजित रहे।

    ओमानका बलरसामू नेपाली ब्याटर निरिह
    जवाफी ब्याटिङमा उत्रिएको नेपालले शुरूआत राम्रो गर्न सकेन। तेस्रो ओभरको पहिलो बलमै ओपनर आशिफ सेख ८ बलमा १ चौका प्रहार गर्दै ५ रनमा पेभिलियन फर्किए। उनले दोस्रो ओभरको पाँचौँ बलमा मेहरान खानबाट ४ रनमा जीवनदान पाएका थिए। कलीमुल्लाह खानको बललाई अफ साइडमा खेल्ने प्रयास गर्दा बलले उचाइको थियो। तर, मेहरानले उक्त बललाई समात्न सकेनन्। तेस्रो ओभरको पहिलो बलमा आशिफ बिलाल खानबाट  कट एन्ड बोल्ड भए। उनले ८ बलमा १ चौकासहित ५ रन बनाए।

    चौँथो ओभरको पाँचौँ बलमा ब्याक बिहाइन्ड स्क्वायरमा काश्यप प्रजापतीबाट सोमपाल कामीले ४ रनमा जीवनदान पाए। पाँचौँ ओभरको अन्तिम बलमा सोमपाल आउट साइड अफ स्टम्पमा खेल्ने क्रममा काश्यपबाट क्याच आउट भए। शकील अहमदको बलमा आउट हुनुपूर्व सोमपालले ९ बलमा १ चौका र १ छक्कासहित १२ रन बनाए। छैठौँ ओभरको पाँचौँ बलमा ओपनर कुशल भुर्तेल बोल्ड भए। मेहरानले फ्याँकेको बलमा स्वीप प्रहार गर्ने क्रममा उनी १८ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै २६ रनमा आउट भए। पहिलो पावर प्लेमा नेपालले ४६ रन बनाउँदा ३ विकेट गुमायो।

    नवौँ ओभरको पहिलो बलमा अकीव इलियासको बललाई कट गर्न खोज्दा कप्तान रोहितकुमार पौडेल पनि १२ रनमा बोल्ड भए। उनले १२ बल खेले।

    मलेसियाविरुद्ध ३४ बलमा २ चौका र ७ छक्कासहित ६५ रनको इनिङ्स खेल्दै जित दिलाएका कुशल मल्ल पनि ओमानका बलरसामू निरिह देखिए। उनी १२औँ ओभरको पहिलो बलमा १० रनमा कलीमुल्लाहबाट सिधा क्याच आउट भए। उनलाई मेहरानले आउट गराए। १३औँ ओभरको चौथो बलमा गुलशनकुमार झा ५ बलमा ३ रन बनाएर खेलिरहँदा फरवार्डमा ओमानका कप्तान जिशान मुक्शूदबाट क्याच आउट भए। उनलाई अकीवले आउट गराए।

    सन्दीप जोरा एज लागेर १६ बलमा १ छक्कासहित १२ रन बनाउँदै पेभिलियन फर्किए। यता, तल्लोक्रमका सन्दीप लामिछाने २ रनमा स्टम्पिङ भए। 

    विवेक र करणको अर्धशतकीय साझेदारी 
    नवौँ विकेटका लागि विवेककुमार यादव र करण केसीले अर्धशतकीय साझेदारी गरे। १५.४ ओभरमा ८-८५ को स्थितिमा रहेको नेपालको इनिङ्स उकास्दै विवेक र करणले १९.४ ओभरमा ९-१३९ को स्थितमा पुर्‍याएका थिए। विवेक २० ओभरको चौँथो बलमा एज लागेर आयन खानबाट ३९ रनमा आउट भए। २०औँ ओभरको पहिलो बलमा विवेकले छक्का प्रहार गरे। दोस्रो बल वाइड भएको थियो। तेस्रो बलमा विवेकले पुन: छक्का प्रहार गरे। तेस्रो बलमा पनि विवेकले सिधा छक्का प्रहार गरे। यद्यपि चौँथो बलमा उनी आउट भए। 

    ओमानका बिलाल खानले सर्वाधिक ३ विकेट लिए। शकीब अहमद, मेहरान खान र अकीव इलियासले २/२ विकेट लिए। जिशान मक्शूदको नाममा १ विकेट रह्यो।

  • सम्बन्धित विषय:

  • # क्रिकेट