कातिक १७ काठमाडौं । नेपालले आईसीसी टी२०आई विश्वकप एशिया छनोट फाइनलको सेमिफाइनलमा पहिला फिल्डिङ गर्ने भएको छ।
माथिल्लो मूलपानी क्रिकेट मैदानमा यूएईका कप्तान मोहम्मद वासिमले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय लिएसँगै नेपाल फिल्डिङमा उत्रिने भएको हो।
नेपाल समूह 'ए' को उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो। नेपालले समूह चरणमा सिंगापुरलाई ८ र मलेसियालाई ६ विकेटले पराजित गरेको थियो। यद्यपि, अन्तिम खेलमा भने नेपाल ओमानसँग ५ रनले पराजित भएको थियो।
यूएई भने समूह 'बी' को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो। यूएईले बहराइन र कुवेतलाई समान ५ विकेटले पराजित गरेको थियो। हङकङलाई भने यूएईले २२ रनले पराजित गरेको थियो।
नेपाली टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईले यूएईविरुद्धको खेलमा एक परिवर्तन गरेका छन्। उनले सन्दीप जोरालाई बाहिर राख्दै दीपेन्द्रसिंह ऐरीलाई प्लेइङ ११ मा राखेका छन्।
दीपेन्द्र सिंगापुरविरुद्धको पहिलो खेलअघि वामअर्प गर्ने क्रममा घाइते भएका थिए। उनको एंगलमा चोट लागेको थियो। चोट लागेसँगै उनले समूह चरणका दुई खेल गुमाएका थिए। टोलीमा अन्य खेलाडीले भने निरन्तरता पाएका छन्।



