काठमाडौँ । अस्ट्रेलियाले भारतमा जारी क्रिकेट विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
मंगलबार सम्पन्न खेलमा अस्ट्रेलियाले अफगानिस्तानलाई ३ विकेटले हराउँदै विश्वकपको सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो।
अफगानिस्तानले दिएको २९२ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ४६.५ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो।
खराब शुरुवात गरेको अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले अविजित २०१ रन बनाउदै अस्ट्रेलियालाई जिताएका थिए। म्याक्सवेलले १२८ बलमा २१ चौका र १० छक्का प्रहार गर्दै अविजित २०१ रन बनाएका थिए।
९१ रनमा ७ विकेट गुमाएको अस्ट्रेलियालाई म्याक्सवेल र कप्तान पाट कमिन्सले अविजित रहँदै जिताएका थिए। दुवैले आठौँ विकेटका लागि २०२ रनको साझेदारी गरेका थिए।
यसअघि पहिला ब्याटिङ गर्दै अफगानिस्तानले ५० ओभरमा ५ विकेट गुमाउदै २९१ रन बनाएको थियो।
योसँगै अस्ट्रेलियाको ८ खेलमा १२ अंक भएको छ र अंक तालिकामा तेस्रो स्थानमा रहेको छ। साथै भारत र दक्षिण अफ्रिकासँगै अस्ट्रेलियाले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ।



