मंसिर ४, काठमाडौं । यमन राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मिरोस्लाभ सुकोपले नेपाललाई कमजोर प्रतिस्पर्धीको रुपमा नलिएको बताएका छन्।
फिफा विश्वकप २०२६ र एएफसी एशियन कपको प्रारम्भिक छनोट अन्तर्गत दोस्रो चरणको खेलमा घरेलु टोलीसँग प्रतिस्पर्धा गर्नुअघि उनले यूएईसँग सम्मानजनक प्रदर्शन गरेकाले नेपाललाई कमजोर प्रतिस्पर्धीको रुपमा नलिएको बताएका हुन्।
यमनले घरेलु टोली नेपालसँग मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा बेलुका ७ बजे सामना गर्दै छ। नेपाल र यमन समूह 'एच' मा रहेका छन्। नेपालसँग खेल्न सहज नहुने पनि उनले बताए।
"नेपालले लाओसलाई कसरी हराएर दोस्रो चरण पुगेको थियो त्यो हामीले हेरेका छौँ। चार दिन अगाडि यूएईसँग पनि नेपालले राम्रो खेल्यो। टोली एकदमै राम्रो छ। त्यसैले नेपालसँग खेल्न सजिलो हुनेछैन," उनले भने, "त्यसैले हामीले नेपाललाई सहज रुपमा लिएका छैनौँ।" नेपालले लाओसलाई समग्रमा २-१ गोलअन्तरले पराजित गर्दै दोस्रो चरणमा स्थान बनाएको थियो। श्रीलंकालाई समग्रमा ४-१ गोलअन्तरले पराजित गर्दै यमन दोस्रो चरणमा पुगेको थियो। दोस्रो चरणको पहिलो खेलमा नेपाल यूएईसँग ४-० गोलअन्तरले पराजित भएको थियो।
यमन पनि दोस्रो चरणको पहिलो खेलमा बहराइनसँग २-० गोलअन्तरले पराजित भएको थियो। नेपाल शुक्रबार स्वदेश फर्किएको थियो। यमन भने आइतबार बिहान आउने तलिका रहेपनि प्रविधिक समस्याको कारण बेलुका मात्रै काठमाडौँ आइपुगेको हो। त्यसैले टोली थकित रहेको मुख्य प्रशिक्षक सुकोपले जानकारी दिए। यद्यपि, मंगलबारको खेल बेलुका ढिला भएको कारण आफूहरूलाई कुनै समस्या नरहेको उनले बताए।
"हम्माद विमानस्थलमा हामी साढे सात घण्टा रोकिन पर्यो। त्यसैले काठमाडौँ आइपुग्न समय लाग्यो। यहाँसम्म आइपुग्दा सबै खेलाडी थकित भइसकेका थिए। तर, बेलुका ७ बजेदेखि खेल भएको कारण हामीलाई कुनै समस्या छैन। खेलाडीहरू मनोवैज्ञानिक रुपमा तयार छन्। आज नै अन्तिम तयारी गर्छौँ," उनले भने।



