श्रीलंकामा हुने तय भएको यू–१९ विश्वकपको दक्षिण अफ्रिकाले आयोजना हुने भएको छ। मंगलबार बसेको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को बैठकले दक्षिण अफ्रिकालाई विश्वकप आयोजना गर्न दिने निर्णय गरेको हो।
यू–१९ विश्वकप जनवरी १४ देखि फेब्रुअरी १५ सम्म श्रीलंकामा हुने तय भएको थियो।
यद्यपि, नोभेम्बर १० मा आईसीसीले श्रीलंका क्रिकेट बोर्डमा सरकारी हस्तक्षेप भएको भन्दै प्रतिबन्ध लगाएको थियो। आईसीसीले श्रीलंका क्रिकेटलाई निलम्बन गर्ने निर्णयलाई कायम राख्ने निर्णय गरेको छ। यद्यपि, बैठकले श्रीलंकाली टोलीलाई निर्बाध रुपमा क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन दिने निर्णय गरेको छ।
आईसीसीले दक्षिण अफ्रिकालाई आयोजनाको अधिकार हस्तान्तरण गरेपनि प्रतियोगिताको मिति परिवर्तन गरेको छैन। दक्षिण अफ्रिकामा १० जनवरीदेखि १० फेब्रुअरीसम्म एसए टी–२० प्रतियोगिता पनि आयोजना हुने भएको छ।
आईसीसीले नयाँ आयोजकका लागि ओमान र यूएईबारे पनि छलफल गरेको थियो। तर, राम्रो पूर्वाधारका कारण दक्षिण अफ्रिकालाई प्रतियोगिता आयोजनाको अधिकार प्रदान गरेको हो। प्रतियोगिताका लागि कम्तिमा तीन मैदान चाहिन्छ, तर ओमानमा एउटा मात्रै मैदान छ। त्यस्तै, यूएईमा प्रतियोगिता आयोजना गर्न निकै महँगो हुने देखिएको छ। यस कारणले आईसीसीले दक्षिण अफ्रिका रोजेको हो।
प्रतियोगितामा श्रीलंकासँगै अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, भारत, आयरल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, वेस्ट इन्डिट, जिम्बावे, नामिबिया र नेपालले सहभागिता जनाउने छन्।
यस्तै, न्यूजिल्यान्ड, स्कट्ल्यान्ड र अमेरिका पनि विश्वकपमा सहभागि हुने छन्। प्रतियोगिताको समूह विभाजन भइसकेको छ। समूह डी मा रहेको नेपालले पाकिस्तान, अफगानिस्तान र न्यूजिल्यान्डसँग खेल्ने तय छ।



