काठमाडौं, मंसिर ११ । विदेशी खेलाडी अमाथ एन्डअको गोल प्रेरणामा नवप्रवेशी स्पोर्टिङ इलाम एफसीले नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा पहिलो जित निकालेको छ।
जारी लिगमा आफ्नो दोस्रो खेलमा स्पोर्टिङ इलामले सोमबार दशरथ रंगशाला झापा एफसीमाथि १-० को जित निकालेको हो।
अन्जन विष्टको कप्तानीमा रहेको झापामाथि साँघुरो जित निकाल्दै इलामले दोस्रो खेलमा तीन अंक बटुल्यो।
स्पोर्टिङ इलामको जितमा अमाथले अन्तिम समय गरेको गोल निर्णायक बन्यो। त्यसअघि पेनाल्टी अवसर गुमाएका अन्तिम समय गोल गर्दै इलामलाई जित दिलाएका हुन्। यता, अर्को नवप्रवेशी झापाले भने हारबाट एनएसएलको यात्रा सुरु गरेको छ। त्यसअघि ११औं मिनेटमा झापाका जर्ज पेइज सान्चेजले गोल गर्ने अवसर गुमाए।
झापाको काउन्टर प्रयासमा सान्चेज स्पोर्टिङ इलामका गोलकिपर विकेश कुथु पनि बिट भएको अवस्थामा गोल गर्न चुके। २१औं मिनेटमा इलामका फोडे क्यामराले गोल गरेका थिए । यद्यपि, खेलका रेफ्री उमेश बिडारीले त्यो गोललाई अफसाइड निर्णय दिए। त्यसको दुई मिनेटपछि नै झापाका फर्नान्डो टोरेसको प्रहार इलामका गोलकिपर विकेशले विफल बनाए। २९औं मिनेटमा स्पोर्टिङ इलामका इब्राहिम डिजिटेले ड्रिब्लिङ गर्दै डिएरियाबाट गरेको प्रहार पहिलो बार हुँदै बाहिरियो।
३८औं मिनेटमा भरत खवासले स्पोर्टिङ इलामलाई अग्रता दिलाउने अवसर गुमाए। डिएरिया भित्र अनमार्क रहेका भरतको प्रहार अकासियो। ४४औं मिनेटमा झापाका अन्जन विष्टको उत्कृष्ट हेडर माथिल्लो बारमा लागेर फर्कियो। छिरिङ लामाको पासमा अन्जनको हेडर गोलमा परिणत हुन सकेन। पहिलो हाफ गोलरहित बराबरीमै रोकियो । दोस्रो हाफमा दुवै तर्पmबाट लगातार प्रहार भए पनि इलामले अन्तिम समयमा गोल गर्दै जित आत्मसात ग¥यो। ४६औं मिनेटमा इलामका अमाथ एन्डअ वान भर्सेस वानमा गोल गर्न चुके। उनको प्रहार गोलकिपर स्टेफन सुपिचले सहजै रोके। लगत्तै अन्जन विष्टले झापाका लागि गोल गरे।
यद्यपि, खेलका एसिस्टेन्ट रेफ्री मधुकर आचार्यले अफसाइडको झन्डा उठाए। ५४औं मिनेटमा झापाका जर्ज सान्चेजको उत्कृष्ट हेडरमा इलामका गोलकिपर कुथुले उत्कृष्ट बचाउ गरे। सुरज विष्टले लेफ्ट साइडबाट दिएको लामो पासमा सन्चेजले हेडर गरे पनि सफल हुन सकेन। लगत्तै एक मिनेटपछि झापाले गोल गर्ने अर्को अवसर गुमाए। झापाका फरवार्ड सान्चेज नजिकैबाटै गोल गर्न चुके। उनको प्रहार यस पटक पनि कुथु नै बाधक भए। ५८औं मिनेटमा स्पोर्टिङ इलामका आशिष गुरुङले गोल गर्ने अवसर गुमाए।
८२औं मिनेटमास्पोर्टिङ इलामले अग्रता लिने सुन्दर अवसर पायो। झापाका योगेश गुरुङले भरत खवासलाई लडाएपछि इलामले पेनाल्टी अवसर पायो। यद्यपि, इलामका अमाथ गोल गर्न चुके। उनको प्रहार माथिल्लो बारबाट बाहिरियो। तर, ८७औं मिनेटमा भने उनले गोल गर्दै आफ्नो गल्तीको सुधार गरे। भरत खवासको पास नियन्त्रण लिँदै उनले गरेको सशक्त प्रहार झापाका गोलकिपर स्टेफनले पन्च गरे पनि प्राप्त रिबाउन्ड बललाई अमाथले उत्कृष्ट गोल गरे। इन्जुरी समयमा झापाको गोल गर्ने उत्कृष्ट अवसरमा इलामका गोलकिपर कुथु नायक बने।
लक्ष्मण रुचालको पासमा प्रदीप लामाको हेडर कुथुले वान ह्यान्डेड’ बचाउ गर्दै आफ्नो टोलीको तीन अंक सुरक्षित गराए। यो खेलसँगै जारी नेपाल सुपर लिगको दोस्रो संस्करणमा सहभागी ९ टोलीले नै पहिलो चरणको खेल पूरा गरेका छन्। इलामले भने आफ्नो दोस्रो खेल खेलेको हो।



