काठमाडौँ, मंसिर २४ । चितवन एफसीलाई हराउँदै ललितपुर सिटी एफसी दोस्रो संस्कराणको नेपाल सुपर लिग (एनएसएल) को शीर्ष स्थानमा उक्लिएको छ।
आइतबार त्रिपुरेश्वस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा ललितपुरले चितवन एफसीलाई तीन एक गोल अन्तरले हराउँदै शीर्ष स्थानमा उक्लिएको हो।
ललितपुरले ५ खेलबाट दुई जित ३ बराबरीसहित ९ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ।
ललितपुरको जितमा पापा केबेले २ र बिवेक पौडेलले एक गोल गरे। यता चितवनका लागि राफिक अमिनोले एक सान्त्वना गोल गरे।
खेलको १३औँ मिनेटमा ललितपुरले सुरुआती अग्रता बनाउँने अवसर खेर फाल्यो। शनि श्रेष्ठले मैदानको मध्य भागबाट दिएको पास दिनेश हेम्जनले पेनाल्टी बक्सबाट गरेको प्रहारलाई चितवनका गोलरक्षक बिशाल श्रेष्ठले बचाएका थिए।
१७औँ मिनेटमा पापा केबेले निखिल कदमले चितवनका अन्तिम डिफेन्सलाई बिट गर्दै उपल्बध गराएको पासमा बिशालसँग वान भर्सेस वानमा गोल गर्ने चुके।
लगातार आक्रमण बुनेको ललितपुरले १९औँ मिनेटमा पापाले गोल गरि सुरुआती अग्रता दिलाए। उनले दिनेश हेम्जनको फ्लिक पासलाई वान टचमा गोल गरे।
चितवनले २९औँ मिनेटमा पहिलो अवसर सिर्जना गरेको थियो। विमल घर्तीमगरले १२ यार्डबाट गरेको प्रहार ललितपुरका गोलरक्षक जेफ्रि विली मार्सलले सहजै बचाए। त्यस लगत्तै ३१औँ मिनेटमा ललितपुरका चार खेलाडीलाई बिट गर्दै चितवना रफिक अमिनोले गरेको शक्तिशाली प्रहारमा मार्सल बाधक बनेपछि पहिलो हाफमा चितवन एक शून्य गोलले पछि पर्यो।
दोस्रो हाफको ५७औँ मिनेटमा ललितपुरले अग्रता दोब्बर बनायो। ललितपुरका लागि बिबेक पौडेलले गोल गरे। चितवना डिफेन्स एबमुबरिक बयूसिफले हेडमार्फत क्लियर गरेको बल नियन्त्रणमा लिँदै विवेकले सुन्दर गोल गरे।
६४औँ मिनेटमा एफ्रि एक्वाले करिब ३५ यार्डबाट गरेको फ्रिकिक माथिल्लो बारमा लागेर बाहिरिएपछि चितवन खेलमा फर्किने अवसर खेर फाल्यो।
७१औँ मिनेटमा चितवना नवयुग श्रेष्ठले २० यार्डबाट गरेको प्रहार ललितपुरका पायोगोलरक्षक जेफ्रिले बिफल पारे।
८९औं मिनेटमा चितवनका लागि रफिक मनोलोले गोल गर्दै खेल दुई एक गोलको अबस्थामा ल्याए। त्यसको एक मिनेट बित्न नपाउँदै ललितपुरले पेनाल्टीको मौका पायो। जसमा पापा केबेले गोल गरि खेलमा तीन एक गोलको जित पक्का गरे। डिबक्समा गोलरक्षक बिशालले फल गरेपछि रेफ्री राम दशानले पेनाल्टीको अवसर दिए। जसमा केबेले कुनै गल्ती गरेनन्।
यो जितसँगै ललितपुरले ५ खेलबाट ९ अंक जोड्दै अंक ता शीर्ष स्थानमा उक्लिएको छ। ललितपुरले यसअघि पहिलो खेलमा बुटवल लुम्बिनी एफसीलाई दुई शून्य गोलले पराजित गरेको थियो। दोस्रो खेलमा पोखरा थन्डर्ससँग गोलरहित बराबरी खेलेको थियो। तेस्रो खेलमा धनगढी एफसीसँग पनि गोलरहित बराबरीमा रोकिएको थियो। चौथो खेलमा बीरगञ्ज युनाइटेडसँग दुई दुई गोलको बराबरी गरेको थियो।
यता पराजित चितवन एफसी समान खेलबाट ५ अंकसहित छैटौँ स्थानमा झरेको छ। यसअघि चितवन आफ्नो पहिलो खेलमा पोखरा थन्डर्ससँग एक शून्य गोलले पराजित भएको थियो भने दोस्रो खेलमा काठमाडौं रेजर्ससँग एक एक गोलको बराबरी खेलेको थियो। तेस्रो खेलमा बीरगञ्ज युनाइटेडलाई दुई एक गोल अन्तरले हराउँदै एनएसएलमा पहिलो जित निकालेको थियो। चोथौ खेलमा बुटवल लुम्बिनीसँग एक एक गोलको बराबरी खेलेको थियो।
यस्तै भोलि सोमबार काठमाडौँ रेजर्स र पोखरा थन्डर्सबीच साँझ साढे पाँच बजेबाट सुरु हुनेछ।



