काठमाडौं, मंसिर २७ । राजधानीमा जारी नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलामबीच प्रतिस्पर्धा हुँदैछ।
यी दुई टोलिबीचको खेल साँझ ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ।
आजको खेलमा वीरगञ्ज पहिलो जितको खोजीमा रहँदा इलाम दोस्रो जित निकाल्ने योजनामा रहेको छ।
जारी लिगमा ५ खेलबाट ४ अंक जोडेको इलाम सातौँ स्थानमा छ। इलामले एकमा जित, एकमा बराबरी र तीन खेलमा हार बेहोरेको छ।
यता, ४ खेलबाट २ अंक जोडेको वीरगञ्ज तालिकाको पुछारमा छ। वीरगञ्जले खेलेका खेलमध्ये दुईमा बराबरी र दुईमा पराजय भोगेको छ।
यसअघि हिजो (मंगलबार) भएको खेलमा बुटवल लुम्बिनी एफसीलाई ०-१ गोलले पाराजित गर्दै झापा एफसीले पहिलो जित निकालेको थियो।



