काठमाडौं, मंसिर २८ । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज धनगढी एफसी र एफसी चितवनबीच प्रतिस्पर्धा हुँदैछ।
यो खेल त्रिपुरेश्वस्थित दशरथ रंगशालमा साँझ ५ बजे सुरु हुनेछ।
जारी सिजन अपराजित दुई मध्ये एक टोली धनगढीलाई आजको खेलमा जित निकाल्दै शीर्ष स्थानमा उक्लने अवसर छ।
चार खेलमा २ जित र २ बराबरीबाट ८ अंकसहित धनगढी हाल दोस्रो स्थानमा छ। एक खेल बढी खेलेको ललितपुर ५ खेलबाट ९ अंकसहित शीर्ष स्थानमा छ। आज जित निकाल्न सके धनगढीले शीर्ष चारमा रहेर प्लेअफ पुग्ने सम्भावना बलियो बनाउनेछ।
यता, चितवन भने ५ खेलबाट ५ अंकसहित सातौं स्थानमा छ। चितवनले एक खेल मात्र जित्दा २ खेल बराबरी गरेको थियो भने दुई खेलमा पराजित भएको थियो।
यस्तै हिजो (बुधबार) भएको खेलमा वीरगञ्ज युनाइटेडले स्पोर्टिङ इलाम मेची डि लाई २-१ गोलले हराउँदै प्रतियोगितामा पहिलो जित निकालेको थियो।



