यूएईलाई फाइनलमा पराजित गर्दै बंगलादेशले पहिलोपटक यू १९ एशिया कप जितेको छ। आइतबार सम्पन्न खेलमा आयोजक यूएईलाई १९५ रनले पराजित गर्दै बंगलादेशले उपाधि जितेको हो।
बंगलादेश दोस्रो पटक फाइनलमा पुगेको हो। यसअघि सन् २०१९ मा श्रीलंकामा सम्पन्न प्रतियोगितामा भारतसँग ५ विकेटले पराजित हुँदै बंगलादेश उपविजेता बनेको थियो। यसपटक भने बंगलादेशले उक्त बदला सेमिफाइनलमै लियो। फाइनल प्रवेशका लागि भएको खेलमा बंगलादेशले भारतलाई ४ विकेटले पराजित गर्दै उपाधिका लागि यूएईसँगको भेट पक्का गर्यो।
उपाधिका लागि बंगलादेशले दिएको २८३ रनको लक्ष्य पछ्याएको यूएईले २४.५ ओभरमा सबै विकेट गुमाउँदै ८७ रन मात्रै बनाउन सक्यो।
यूएईका धुर्व प्रशारले अविजित रहँदै सर्वाधिक २५ रन बनाए। उनले ४० बलमा २ चौका प्रहार गरे।
यता, अक्षत राईले ११ रन बनाउनुबाहेक यूएईका अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
बंगलादेशका मारुफ मृधा र रोहनत डौल्लाह बोर्सनले ३/३ विकेट लिए। इकबाल हुसेन इमन र शेख पावेज जीवनको नाममा २/२ विकेट रह्यो।
त्यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २८२ रन बनायो।
आशिकुर रहमान शिबलीले सर्वाधिक १२९ रन बनाए। ओपनर शिबलीले १४९ बलमा १२ चौका र १ छक्का प्रहार गरे।
चौधरी मोहम्मद रिजवानले ७१ बलमा ४ चौका र १ छक्कासहित ६० रन बनाए।
आरिफुल इस्लाम ५० रनमा आउट हुँदा कप्तान महफुजुर रहमान रबीले २१ रन बनाए। अन्य ब्याटले दोहोरो अंकमा रन छुन सकेनन्।
यूएईका आयमान अहमदले सर्वाधिक ४ विकेट लिए। उनले १० ओभरमा ५२ रन खर्चिए। ओमिद रेहमानले २ विकेट लिँदा हार्दिक पाइ र धुर्व प्रशारको नाममा १/१ विकेट रह्यो। सेमिफाइनलमा पाकिस्तानलाई ११ रनले पराजित गर्दै यूएई पहिलोपटक फाइनलमा पुगेको थियो।



