काठमाडौं, पुस ६ । झापा एफसीलाई पराजित गर्दै एफसी चितवनले नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत सान्त्वना जित निकालेको छ।
शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा झापालाई चितवनले २-० गोलअन्तरले पराजित गरेको हो।
यो जितसँगै जारी सिजनको एनएसएलमा ८ खेलबाट ९ अंक जोड्दै अंक तालिकाको छैटौं स्थानमा उक्लिएको छ। चितवनले २ जित ३ बराबरी र ३ व्यहोर्नुपरेको थियो। यसअघि नै प्लेअफबाट बाहिरिसकेको चितवनले जारी सिजन सान्त्वना जित रह्यो। यता, पराजित झापाको भने समान ८ खेलबाट १० अंकसहित चौथो स्थानमा यथावत् रहेको छ। झापाले २ जित, ४ बराबरी र २ हार व्यहोर्नुपरेको थियो। झापाको प्लेअफ सम्भावना भने अन्य टोलीको नतिजामा अडिएको छ।
शनिबार लिग चरणको अन्तिम दिन वीरगन्ज युनाइटेड र बुटवल लुम्बिनी तथा काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी खेल्नेछन् । झापालाई प्लेअफ पुग्न ललितपुरले जित दर्ता गरेर अर्को खेल बराबरीमा टुंगिनु पर्नेछ। बुटवलको जितले पनि सम्भावना भने रहनेछ।
खेलको साताैं मिनेटमा राफिक अमिनुले गोल गर्दै चितवनलाई अग्रता दिलाए। उनले विमल घर्ती मगरले प्रहार गरेको कर्नर किकगमा गोल गरेका हुन्।
१८औं मिनेट बुद्ध तामांगले दिएको पासमा चितवनका स्टार विमले राम्रो फुटस्किल देखाउदै प्रहार गरेको सुन्दर बललाई झापाका गोलकिपर स्टेफन क्युपिकले विफल पारिदिएका थिए।
पहिलो हाफको इन्जुरि समयमा लक्ष्मन रुचालले डिवक्सभित्र दिएको क्रसलाई समिराज ठोकरले गर्को राम्रो प्रहार चितवनको गोलपोष्ठमा लागेर फर्किएको थियो।
७८औं मिनोटमा राफिक अमिनुले व्यक्तिग दोस्रो गोल गर्दै टोलीलाई २-० को अग्रतामा पुर्याए। विक्रम धिमालले दिएको लंग पासलाई अमिनुले जालि चुमाउन सफल भए।
त्यसपछि ८०औं मिनेटमा अन्जन विष्टलाई डिवक्सभित्र चितवनका डिफेन्डर छिरिंग लामाले लडाएपछि झापाले पेनाल्टी पाएको थियो। तर विष्टले पेनाल्टीलाई गोलमा परिणत गर्न सकेनन्। उनको प्रहारलाई विशाल श्रेष्ठले उत्कृष्ट बचाउ गरिदिएका थिए।



