काठमडौं, पुस १० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आईसीसी टी२० विश्वकप खेल्ने नेपाली टोलीको तयारीमा कुनै कसरत नराख्ने बताएका छन्। राष्ट्रका नाममा मंगलबार सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन्।
आईसीसी टी २० विश्वकप जुन ४ देखि ३० सम्म वेस्ट इन्डिज र अमेरिकामा हुँदैछ। नेपालसहित २० राष्ट्रले यो प्रतियोगिता खेल्दै छन्। काठमाडौँमा गत नोभेम्बर ३ मा भएको टी-२० विश्वकप एशिया छनोटको सेमिफाइनलमा चिरप्रतिद्वन्द्वी यूएईलाई ८ विकेटले पराजित गर्दै नेपाललेएक दशकपछि टी२० विश्वकपमा दोस्रो पटक स्थान बनाएको थियो।
नेपाली टोलीले सुविधासम्पन्न मैदानबिना नै विश्वकपको यात्रा तय गरेको उनले बताए। यसरी विश्वकपमा छनोट भएको टोलीको तयारीमा कुनै कसरत नराख्ने उनले बताए। ''यो सफलतासँगै देशमा खेल पर्यटनको ठूलो आधार तय भएको छ। यसका लागि पूर्वधारमा ध्यान केन्द्रित गरेका छौँ,'' उनले भने।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई पीपीपी मोडलमा विस्तार गरिँदै गरेको उनले जानकारी दिए। यता, मूलपानी, विराटनगर र कैलालीको फाफ्ला क्रिकेट मैदानलाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माण गरिँदै गरेको समेत उनको भनाइ थियो। चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई पनि राष्ट्रिय गौरवकै आयोजनाको रुपमा राखेर निर्माण अगाडी बढाइएको उनले बताए।
''सरकारको ध्यान पूर्वधार निर्माणमै क्रेन्द्रित छ। ग्रास्टरुटबाटै खेलाडी, खेलकुद र खेल पूर्वधारको विकास गरी खेल पर्यटन ठूलो सम्भावना हासिल गर्न सरकारले कुनै कसर छाड्ने छैन,'' उनले भने।



